अस्ट्रेलियाको मेलबर्न र सिड्नी शहरहरुमा कोभिड लकडाउनको विरोधमा प्रदर्शन गरिरहेका हजारौं मानिसहरुसँग प्रहरीको झडप भएको छ।
मेलबर्नमा ४ हजार जनाको ठूलो र्यालीले प्रहरीको लाइन तोडेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि ‘पेपर स्प्रे’ छर्केर तितरबितर पार्ने कोशिस गरेको बीबीसीले उल्लेख गरेको छ।
प्रहरीले २१८ जनालाई पक्राउ गरेको छ भने कम्तिमा सात जना प्रहरी अधिकारीहरु घाइते भएका छन्।
लकडाउन अर्को महिनासम्मको लागि विस्तार गरिएको सिड्नीमा १ हजार भन्दा बढी प्रहरीहरुले प्रदर्शनलाई तितरबितर पारेका थिए।
सिड्नी राजधानी रहेको न्यु साउथ वेल्स राज्यमा ८२५ नयाँ स्थानीय कोभिडका केसहरु रेकर्ड गरिएको छ, जुन २४ घण्टाको अवधिमा देखिएको अन्य अस्ट्रेलियाली क्षेत्रको भन्दा बढी हो।
क्विन्सल्याण्डको राजधानी ब्रिस्बेनमा शान्तिपूर्ण जुलुस निकाल्नु भन्दा पहिले २ हजार भन्दा धेरै प्रदर्शनकारीहरु भेला भएका थिए।
भिक्टोरिया राज्यमा प्रहरीले शनिवार मेलबर्नमा भएको हिंसाको निन्दा गरेको छ।
‘त्यहाँ केही शान्तिपूर्ण प्रदर्शनकारीहरु उपस्थित भएको भएपनि अधिकांश भने हिंसालाई दिमागमा राखेर नै आएका थिए’, प्रहरी प्रवक्तालाई उदृत गर्दै सिड्नी मर्निङ हेराल्डले भनेको छ, ‘प्रदर्शनकारीहरुको व्यवहार यति आक्रमक थियो कि प्रहरीहरुलाई उपलब्ध सबै रणनीतिहरुको उपयोग गर्नु बाहेक अरु कुनै विकल्प बाँकी थिएन।’
पक्राउ परेका सबैलाई कोभिड नियम उल्लंघन गरेवापत ५ हजार ४५२ अस्ट्रेलियन डलर जरिबाना तिराइने प्रहरीले जनाएको छ। तीन जनालाई प्रहरीमाथि कुटपिट गरेको अभियोग पनि लगाइएको छ।
कोभिड केसको बढ्दो प्रकोपलाई नियन्त्रणमा ल्याउनको लागि शनिवार भिक्टोरिया राज्यभर घरमै बस्ने आदेशलाई लम्ब्याइएको थियो।
लगभग २५० मानिसहरु मात्रै सहभागी सिड्नीमा विरोध प्रदर्शन सानो थियो।
न्यु साउथ वेल्सका डेप्युटी पुलिस कमिस्नर मल ल्यान्योनका अनुसार प्रदर्शनकारीद्वारा सडकमा तानिएपछि एक प्रहरी अधिकारी घाइते भएका थिए। जसमा ४७ जना पक्राउ परेका छन्।
सिटी सेन्टरतिर जाँदै गरेका करिब ३८ हजार कारहरुलाई रोकिएको र राज्य भर २६० मानिसहरुलाई लकडाउनको नियम उल्लंघन गरेको आशंकामा नोटिश पठाइएको उनले बताए। प्रदर्शनकारीहरुको कार्य ‘दुःखद’ भएको भन्दै उनले प्रहरीले स्वतन्त्र अभिव्यक्ति रोक्न खोजेको नभई कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न यस्तो गरिएको बताए।
सिड्नीमा प्रदर्शनकारीहरुलाई तितरबितर गर्न करिब १ हजार ५०० प्रहरीहरु तैनाथ गरिएको र उनीहरुले ‘अनुकरणीय’ काम गरेको पुलिस मिनिस्टर डेभिड इलियटले बताए।
कोभिड महामारीको संक्रमणलाई नियन्त्रण गर्न भन्दै सिड्नीमा सेप्टेम्बरको अन्त्यसम्म लकडाउन लम्ब्याइएको केही घण्टापछि विरोध प्रदर्शन शुरु भएको हो। २० लाख बासिन्दा रहेका शहरका सबैभन्दा नराम्रोसँग प्रभावित क्षेत्रहरुमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।
जुनको अन्त्यदेखि सिड्नीमा घरभित्रै बस्न आदेश दिइएको थियो। तर, पछिल्लो हप्तामा संक्रमण दोब्बर भन्दा बढी देखिएको छ।
कर्फ्यूका आलोचकहरुले यसलाई भाइरस नियन्त्रण गर्ने प्रभावकारी माध्यम नभएको बताउँछन्। न्यु साउथ वेल्सका सांसदहरूले पनि सिड्नीका गरीब पश्चिम र दक्षिण-पश्चिमी क्षेत्रमा कडा प्रतिबन्ध लागू गर्दा प्रशासनको आलोचना गरेका छन्।
महामारी नियन्त्रणमा चालिएका कदमको लागि अस्ट्रेलियाको व्यापक प्रशंसा भएको छ। अस्ट्रेलियामा ९७८ जनाको मृत्यु भएको छ, जुन धेरै राष्ट्रहरु भन्दा कम हो। तर, जुनको सुरुवातमा डेल्टा भेरियन्ट देखिएसँगै संक्रमणको वृद्धिदर पनि बढेको छ।