PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

अफगानिस्तानबाट ताजकिस्तान पुगेका दुई नेपाली एअर इन्डियाको जहाजबाट नयाँ दिल्ली पुग्दै



अफगानिस्तानबाट ताजकिस्तान पुगेका दुई नेपाली एअर इन्डियाको जहाजबाट नयाँ दिल्ली पुग्दै
फोटो : Arindam Bagchi

काठमाडौं : अफगानिस्तान तालिवानले नियन्त्रणमा लिएपछि त्यहाँबाट विभिन्न देशका नागरिकले देश छाड्ने क्रम जारी छ। सोही क्रममा कतार हुँदै नेपालीहरु पनि आउने क्रम जारी रहेको छ। सरकारले अफगानिस्तानबाट स्वदेश आउन चाहनेहरुका लागि सम्पर्क गर्न सहजीकरण गरिरहेको जनाएको छ।

तालिवानले पनि देश छाड्न चाहनेहरुलाई कुनै बाधा नदिने जनाएको थियो। अगस्ट १५ मा अफगानिस्तान तालिवानले कब्जामा लिएको थियो।

सोही क्रममा काबुलबाट ताजकिस्तान पुगेका दुई नेपाली एअर इन्डियाको जहाजबाट फर्किँदैछन्। उनीहरु भारतको नयाँ दिल्ली पुगेर काठमाडौं आइपुग्ने बताइएको छ। उनीहरु ताजकिस्तानमा कसरी पुगे भन्ने कुनै कुरा खुलाइएको छैन।

भारतको विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीका अनुसार दुइ नेपाली एअर इन्डियाको विमानबाट ताजकिस्तानबाट नयाँ दिल्ली आउँदैछन्। उक्त विमानमा ८७ जना भारतीय रहेको उनले ट्वीट्मार्फत जनाएका छन्।

अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाल आइपुगेका छन्। तालिबानले अफगानिस्तानको राजधानी काबुलसहितका शहरहरू कब्जा गरेसँगै त्यहाँ रोजगारीका लागि पुगेका नेपालीहरुको विभिन्न देशको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो।

शनिवारमात्र अफगानिस्तानबाट थप ३५ जना नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। टर्किस एयरबाट २६ जना र जजिरा एयरको नियमित उडानबाट थप ९ जना नेपाल आएका हुन्। योसँगै हालसम्म कूल ५०४ जना नेपाली नागरिकहरू अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका छन्।

नेपाल आएका नेपालीहरुलाई अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा शुक्रवार साँझ ५ बजेसम्म ३१७ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गराएका छन्।

उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाईन पोर्टलमा दर्ता भएका, नेपाल राजदूतावास, नयाँदिल्लीबाट प्राप्त विवरण तथा सिच्वेसन रुममा नाम टिपाएका नेपालीहरूलाई सम्पर्क गरी उनीहरु हाल रहेको स्थान अनुसार समुहीकृत सुची तयार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उक्त समुहीकृत सूची काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूलाई उपलब्ध गराई उनीहरूको उद्धार कार्यमा आवश्यक सहकार्य र समन्वय भैरहेको मन्त्रालयले जनाएको छ।

भारतीयहरुको धमाधम उद्धार

भारतले आफ्ना नागरिकको धमाधम उद्धार थालेको छ। काबुलबाट दोहा पुगेका १३५ भारतीय आफ्नो देश फर्किएको भारतीय सञ्चार माध्यमले जनाएको छ। यसरी काबुलबाट भारत फर्किनेमा उनीहरु पहिलो ब्चाज भएको कतारस्थित भारतीय दूतावासले जनाएको छ।

अफगानिस्तानमा रहेका ५०० भारतीयहरु आइतवार नै त्यहाँबाट फर्कन चाहिरहेको बताइएको छ। यता भारतको विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीका अनुसार ८७ जना भारतीय एअर इन्डियाको विमानबाट ताजकिस्तानबाट नयाँ दिल्ली आउँदैछन्। आजैमात्र काबुलबाट भारतीय एअर फोर्सको जहाजमार्फत १६८ दिल्ली ल्याउँदै गरेको बाग्चीले जनाएका छन्। जसमा १०७ जना भारतीय रहेको उनले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell