काठमाडौं : आधुनिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले जया मल्टिपल क्याम्पस र जेनिस क्लाउड एकेडेमीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानीप्रसाद पौडेल र जेनिस क्लाउड एकेडेमीका कार्यक्रम व्यवस्थापक नीलमणि न्यौपानेले हस्ताक्षर गरेका छन्।
समझदारी अनुसार जेनिस क्लाउड एकेडेमीले जया मल्टिपल क्याम्पसका विद्यार्थीहरूका लागि अमेजनले डिजाइन गरेका विषयवस्तु अध्यापन गराउनेछ। साथै, उक्त विषयवस्तु अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नसीप र रोजगारीको व्यवस्थापनको समेत सहजीकरण गर्नेछ।
अमेजनले तयार गरेको यस विषयवस्तु पूर्णरूपमा अनलाइनबाट अध्यापन गराइनेछ। अमेजनले १०० अमेरिकी डलर बराबरको अभ्यास प्याकेज सुविधा उपलब्ध गराउनेछ। यसको माध्यमबाट विद्यार्थीले क्लाउडसँग सम्बन्धित सम्पूर्ण विषय अध्ययन गर्न सक्नेछन्।
जया मल्टिपल क्याम्पसमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीका लागि अतिरिक्त सीप र शिक्षा प्रदान गर्ने उद्देश्यले यो समझदारी गरिएको क्याम्पस प्रमुख पौडेलले बताए। अमेजनले तयार गरेको यो विषयवस्तु अध्ययन गरिसकेपछि विद्यार्थीलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सम्पर्क एवं आवद्धता विस्तार र रोजगारीका लागि सहयोग पुग्ने उनको भनाइ छ।
‘जया मल्टिपल क्याम्पसले सुलभरूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने क्रममा जेनिस क्लाउड एकेडेमीबीच समझदारी गरेको छ’, उनले भने, ‘यस क्याम्पसमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय सम्पर्क र पहुँच विस्तारमा हामीले पहल शुरु गरेका छौँ।’
एडब्लुएस के १२ कोर्स माध्यामिक तहका विद्यार्थीका लागि र एडब्लुएस सर्टिफिकेसन कोर्स स्नातक तहका विद्यार्थीका लागि उपलब्ध गराइनेछ।
कार्यक्रममा जेनिस क्लाउड एकेडेमीका कार्यक्रम व्यवस्थापक न्यौपानेले भविष्यमा अष्ट्रेलिया, अमेरिका लगायतका विकसित देशका विश्वविद्यालय र कलेजसँग यस कलेजका विद्यार्थीलाई सहज पहुँच स्थापित गर्न समझदारी महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताए।