हेटौँडा : वाग्मती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यादवचन्द्र शर्माले पदभार ग्रहण गरेका छन्। प्रदेश मुकाम हेटौँडामा बुधवार दिउँसो आइपुगेका शर्माले प्रदेश प्रमुखको कार्यालयमा पुगेर औपचारिक रुपमा कार्यभार सम्हालेका हुन्।
यसअघि प्रदेश प्रमुख रहेका विष्णु प्रसाद प्रसाईलाई बर्खास्त गरेर संघीय सरकारले शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। पदभार ग्रहण गर्दै प्रदेश प्रमुख शर्माले सबै पक्षलाई समेटर अगाडि बढ्ने प्रतिबद्धता जनाए।
उनले सबैसँग सद्भाव कायम गर्दै प्रदेशको समग्र विकासमा अगाडि बढ्ने बताए। आफू संविधानको दायरामा रहेर आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्ने उनले प्रतिबद्धता जनाए।
माधव नेपाल २०६५ सालमा प्रधानमन्त्री हुँदा उनी प्रमुख स्वकीय सचिव थिए। शर्मा नेता नेपालको सचिवालयमा लामो समयदेखि काम गर्दै आइरहेका छन्।
नेकपा (एमाले) विभाजन लगत्तै प्रसाईलाई हटाएर सरकारले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेको हो। प्रसाई एमालेका अध्यक्ष केपी शर्मा ओली निकट हुन्।