PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

कम्युनिस्ट विरासतमाथि माधव नेपालको दाबी, ओलीमाथि कटाक्ष- ‘किन चाहियो पानी जहाज कार्यालय, किन चाहियो पूर्व-पश्चिम रेल?’



कम्युनिस्ट विरासतमाथि माधव नेपालको दाबी, ओलीमाथि कटाक्ष- ‘किन चाहियो पानी जहाज कार्यालय, किन चाहियो पूर्व-पश्चिम रेल?’

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नवगठित एकीकृत समाजवादी नेपालको कम्युनिस्ट आन्दोलनको विरासत बोकेको पार्टी भएको भन्दै कम्युनिस्टहरुलाई गोलबन्ध गराउँदै अगाडि बढाउने उद्घोष गरे।

निर्वाचन आयोगबाट बुधवार राजनीतिक दल दर्ताको प्रमाणपत्र पाएसँगै बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालले दक्षिणपन्थी अवसरवादसँगै मध्यपन्थी अवसरवादबाटसमेत मुक्ति पाएको बताए। एकीकृत समाजवादीको गठन कम्युनिस्ट आन्दोलनको एक विद्रोह भएको नेपालले दाबी गरे।

‘नेपाली कम्युनिस्ट आन्दोलनको उतारचढावपूर्ण इतिहासमा फेरि एउटा विद्रोह भएको छ। नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको भासमा डुब्नबाट बचाएर क्रान्तिकारी धार दिई नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्ने उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाल कम्यनिस्ट पार्टी (एकीकृत समाजवादी) को उदय भएको छ’, उनले भनेका छन्, ‘दक्षिणपन्थी अवसरवादीहरूबाट मात्रै होइन मध्यपन्थी अवसरवादीहरूबाट समेत गरिएका अनेकन जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयाससमेत सबैलाई परास्त गर्दै विद्रोह सफल भएको छ।’

उनले एकीकृत समाजवादी पार्टी नेपाली कम्युनिस्ट पार्टीको वर्तमान स्वरुप भएकोसमेत दाबी गरे।

‘यो पार्टी २२ अप्रिल १९४९ (१० वैशाख २००६) मा स्थापित नेपाल कम्युनिस्ट पार्टीको वर्तमान स्वरूप हो’, उनले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापना कालदेखि जुन लक्ष्य-उद्देश्य राखेको थियो ती लक्ष्य-उद्देश्य नै यस पार्टीका लक्ष्य-उद्देश्य हुन्।’

साथै, पार्टीले मदन भण्डारीले स्थापित गरेको जबजको विचारलाईसमेत आफ्नो भएको दाबी गरेको छ।

‘नेपालको कम्यनिस्ट आन्दोलनमा जननेता कमरेड मदन भण्डारील स्थापित गर्नुभएको विचार दृष्टिकोण विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचारणलाई बचाइराख्न चाहन्छौँ’, नेपालले अगाडि भनेका छन्, ‘त्यसका निम्ति नेकपालाई नयाँ ढंगले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ।’

साथ छाडेका नेता प्रति टिप्पणी : थाक्नेहरुसँग कुनै गुनासो छैन

नेता नेपालले पार्टी गठनको अन्तिम अवस्थामा आएर साथ छाडेका नेताहरुलाई ‘क्रान्तिबाट थाकेका’ नेताको संज्ञा दिए।

‘क्रान्तिकारीहरु कहिल्यै थाक्दैनन्, तर थाक्नेहरू थाकिरहन्छन्, त्यस्ताहरुप्रति मेरो कुनै गुनासो छैन,’ उनले भने।

गत चैत ४ र ५ गतेको भेलाले नै नयाँ क्रान्तिकारी पार्टी बनाउने अठोट गरेको दाबी गर्दै त्यसबेला धेरै साथीहरुले साथ दिए पनि पछि ओलीतिर लागेको भन्दै कसैले छोडे पनि आफू पछि नफर्कने बताए।

‘त्यतिबेला नयाँ दल गठन गरौँ भन्नेहरु अहिले हामीसँग हुनुहुन्न। उहाँहरुले नै दल दर्ता गरौँ भन्नुहुन्थ्यो। निर्वाचन आयोगमा दल दर्ता पनि गराउनुभएको थियो’, उनले भने, ‘म त्यता तिर जान्न हामीसँग फेहरिस्त छ।’

उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको बताए। उनले केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको दाबी गरे।

पानी जहाज कार्यालय किन चाहियो?

अध्यक्ष नेपालले केपी ओलीका योजनालाई हावादारी योजनाको संज्ञा दिए। आफ्नो पार्टीले सम्भव हुने नेपालको विकासका लागि आवश्यक पर्ने योजनाहरुलाई अगाडि बढाउने दाबी गरे।

‘पानी जहाज कम्पनी खोल्न आवश्यक छैन, मेची महाकाली रेल कुदाउने अवस्था पनि छैन’, उनले भने, ‘सडक सञ्जाल विस्तारमा जोड दिन्छौं। एउटा रेल छ त्यसलाई चलाउँछौँ।’

उनले नेपालको विकासका लागि कृषि र पर्यटनलाई अगाडि बढाउनेसमेत बताए।

एमसीसीमा बटमलाइन : परिमार्जन हुनुपर्छ

यसैबीच, अध्यक्ष नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने बताए।

एमसीसीको विषयमा साबिकको नेकपामा झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन अनुसार अघि बढ्ने बताए।

‘परिमार्जन गरेर नेपालको हितमा प्रयोग होस्, कुनै पनि रणनीतिक योजनाको अंग नबनोस्,’ उनले भने।

एमसीसी विवाद चर्किँदै गर्दा तत्कालीन नेकपाको केन्द्रीय समितिले खनालको नेतृत्वमा भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित कार्यदल बनाएको थियो। कार्यदलले परिमार्जनसहित पारित गर्नुपर्ने सुझाव दिएको थियो।

तत्कालीन प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीले हुवहु पारित गर्नुपर्ने अडान लिएका कारण कार्यदलको सुझावसहितको प्रतिवेदन थन्किएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell