PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

काबुल विमानस्थलबाहिर शक्तिशाली विस्फोटः कम्तीमा १३ जनाको मृत्यु, सयौँ हताहत



काबुल विमानस्थलबाहिर शक्तिशाली विस्फोटः कम्तीमा १३ जनाको मृत्यु, सयौँ हताहत
Photo: TOLOnews

अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा दुई शक्तिशाली आत्मघाती बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ। पश्चिमी गुप्तचर एजेन्सीहरुले आतंकवादी खतराको चेतावनी दिएको केही घण्टापछि नै भएको उक्त विस्फोटमा बालबालिकासहित १३ जनाको मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ

तालिवानका प्रवक्ताले विस्फोट मा ५० जनाभन्दा बढी घाइते भएको पुष्टि गरेका छन्।

प्रवक्ता जबिहुल्ला मुजहिदले विमानस्थलबाहिर भएको विस्फोटमा मारिनेमा महिला र बालबालिका समेत रहेको बताएको अफगानिस्तानको अमाज न्युजले उल्लेख गरेको छ

र, काबुलको एक आपतकालीन अस्पतालले विमानस्थल विस्फोटबाट अहिलेसम्म ६० जना घाइतेलाई अस्पताल ल्याइएको बताएको छ।

तालिबानका प्रवक्ताले रोयटर्सलाई बताए अनुसार आक्रमणमा घाइते भएकामध्ये तालिबान गार्डसहित बालबालिका पनि रहेका छन। आक्रमणमा १३ जनाको मृत्यु भएको उनले पुष्टि गरे।

तालिबानले काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको बम विष्फोटको निन्दा गरेको छ। सो आक्रमण अमेरिकी सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा भएको तालिबानले बताएको पीए मिडियाले उल्लेख गरेको छ।

 

विस्फोटमा मृत्यु हुनेहरुमध्ये ४ जना अमेरिकी सैनिक रहेको बताइएको छ। विस्फोटमा अमेरिकी सेनाको पनि हताहत भएको पेन्टागनका प्रवक्ता जोन किर्बीले पुष्टि गरेका छन्। तीन अमेरिकी सैनिक घाइते भएको रोयटर्सले जनाएको छ। पेन्टागनले यसलाई एक ‘जटिल हमला’ भनेको। विस्फोट विमानस्थलको एबी गेट प्रवेशद्वार नजिकै एउटा आत्मघाती बम विस्फोट भएको र अर्को ब्यारोन होटल नजिकै भएको थियो। सो प्रवेशद्वार बेलायत आउन चाहने अफगानहरुलाई ल्याउन प्रयोग गरिएको थियो।

बेलायतको रक्षा मन्त्रालयले विस्फोटबाट काबुलमा रहेका कुनै पनि सैनिक वा सरकारी कर्मचारी घाइते नभएको जनाएको छ।

बेलायतका यातायात मन्त्री ग्रान्ट स्याप्सले विमान सेवालाई अफगानिस्तानको हवाई क्षेत्रमा २५ हजार फिट माथि रहन सल्लाह दिँदै एक सूचना जारी गरेका छन्।

 

आतंकवादी हमलाको बावजुद अफगानिस्तानमा बेलायती नागरिकको उद्धारको प्रयास जारी राखिने प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्। यता, नर्वेले भने अफगानिस्तानको राजधानीबाट बाँकी रहेका नागरिकहरुको उद्धार गर्न नसक्ने बताएको छ।

‘एयरपोर्ट बन्द गरिएको छ र अब मानिसहरुलाई भित्र पस्न सम्भव छैन,’ विदेश मन्त्री इने एरिक्सन सोइराइडले भने।

इटालीको रक्षा मन्त्रालयले काबुल विमानस्थलमा भएको विस्फोटमा कुनै इटालियन घाइते वा मृत्यु नभएको बताएको रोयटर्सले जनाएको छ। त्यस्तै, इटाली सरकारले भिड तितरबितर पार्न गोली चलाइएको पनि बताएको छ।

जर्मनीले अफगानिस्तानमा उद्धार अभियानको अन्त्य गरेको छ। जर्मनीका रक्षामन्त्रीले यसको पुष्टि गरेका छन्। संघीय रक्षामन्त्री एनेग्रेट क्राम्प कारेनबाउरले जर्मनीका अन्तिम सैन्य विमान र सेना उज्बेकिस्तानको टासकेन्ट आइपुगेको बताए।

जर्मन चान्सलर एन्जेला मर्केलले काबुलमा उद्धारका उडानहरुमा पहुँच नपुगेकाहरुलाई बेवास्ता नगरिने बताएकी छिन्। जर्मन विदेश मन्त्रालयले अझै तालिबानसँग वार्ता गरिरहेको उनले बताइन्।

अस्पतालमा घाइतेहरुलाई पुर्‍याउने क्रम जारी छ। अस्पताल ल्याउँदै गर्दा धेरैको मृत्यु भएको अनुमान गरिएको छ। मृतकको संख्या बढ्न सक्ने टोलो न्युजले उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय मिडियाहरुले विमानस्थलबाहिर गोली चलेको पनि बताएका छन्। बम विस्फोट कसरी र कसले गर्‍यो खुलेको छैन।

अफगानिस्तान मामिला समेत हेर्ने भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले विमानस्थलबाहिर विस्फोट भएकोले टाढै रहन त्यहाँका नेपालीलाई आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell