PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

काबुल विस्फोट : मृत्यु हुनेमा ६० जना अफगान नागरिक, १२ जना अमेरिकी सैनिक



काबुल विस्फोट : मृत्यु हुनेमा ६० जना अफगान नागरिक, १२ जना अमेरिकी सैनिक
Photo: TOLOnews

पछिल्लो रिपोर्ट अनुसार अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा भएको दुई शक्तिशाली आत्मघाती बम विस्फोटमा ६० जना अफगान नागरिकको मृत्यु भएको द वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ

सो विस्फोटमा कम्तिमा १२ जना अमेरिकी सैनिकको मृत्यु भएको एपीले उल्लेख गरेको छ। यो संख्या अझै बढ्न सक्ने बताइएको छ। अमेरिकी अधिकारीहरुका अनुसार १५ जना सैनिकहरु घाइते भएका छन्।

 

काबुल एयरपोर्ट हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। टेलिग्राम एकाउन्टमार्फत इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको रोयटर्सले जनाएको छ।

तालिबानका प्रवक्ताले रोयटर्सलाई बताए अनुसार आक्रमणमा घाइते भएकामध्ये तालिबान गार्डसहित बालबालिका पनि रहेका छन्।

तालिबानले काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको बम विष्फोटको निन्दा गरेको छ। सो आक्रमण अमेरिकी सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा भएको तालिबानले बताएको पीए मिडियाले उल्लेख गरेको छ।

 

विस्फोटमा अमेरिकी सेनाको पनि हताहत भएको पेन्टागनका प्रवक्ता जोन किर्बीले पुष्टि गरेका छन्। पेन्टागनले यसलाई एक ‘जटिल हमला’ भनेको। विस्फोट विमानस्थलको एबी गेट प्रवेशद्वार नजिकै एउटा आत्मघाती बम विस्फोट भएको र अर्को ब्यारोन होटल नजिकै भएको थियो। सो प्रवेशद्वार बेलायत आउन चाहने अफगानहरुलाई ल्याउन प्रयोग गरिएको थियो।

बेलायतको रक्षा मन्त्रालयले विस्फोटबाट काबुलमा रहेका कुनै पनि सैनिक वा सरकारी कर्मचारी घाइते नभएको जनाएको छ।

बेलायतका यातायात मन्त्री ग्रान्ट स्याप्सले विमान सेवालाई अफगानिस्तानको हवाई क्षेत्रमा २५ हजार फिट माथि रहन सल्लाह दिँदै एक सूचना जारी गरेका छन्।

 

आतंकवादी हमलाको बावजुद अफगानिस्तानमा बेलायती नागरिकको उद्धारको प्रयास जारी राखिने प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्। यता, नर्वेले भने अफगानिस्तानको राजधानीबाट बाँकी रहेका नागरिकहरुको उद्धार गर्न नसक्ने बताएको छ।

‘एयरपोर्ट बन्द गरिएको छ र अब मानिसहरुलाई भित्र पस्न सम्भव छैन,’ विदेश मन्त्री इने एरिक्सन सोइराइडले भने।

इटालीको रक्षा मन्त्रालयले काबुल विमानस्थलमा भएको विस्फोटमा कुनै इटालियन घाइते वा मृत्यु नभएको बताएको रोयटर्सले जनाएको छ। त्यस्तै, इटाली सरकारले भिड तितरबितर पार्न गोली चलाइएको पनि बताएको छ।

जर्मनीले अफगानिस्तानमा उद्धार अभियानको अन्त्य गरेको छ। जर्मनीका रक्षामन्त्रीले यसको पुष्टि गरेका छन्। संघीय रक्षामन्त्री एनेग्रेट क्राम्प कारेनबाउरले जर्मनीका अन्तिम सैन्य विमान र सेना उज्बेकिस्तानको टासकेन्ट आइपुगेको बताए।

जर्मन चान्सलर एन्जेला मर्केलले काबुलमा उद्धारका उडानहरुमा पहुँच नपुगेकाहरुलाई बेवास्ता नगरिने बताएकी छिन्। जर्मन विदेश मन्त्रालयले अझै तालिबानसँग वार्ता गरिरहेको उनले बताइन्।

अस्पतालमा घाइतेहरुलाई पुर्‍याउने क्रम जारी छ। अस्पताल ल्याउँदै गर्दा धेरैको मृत्यु भएको अनुमान गरिएको छ। मृतकको संख्या बढ्न सक्ने टोलो न्युजले उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय मिडियाहरुले विमानस्थलबाहिर गोली चलेको पनि बताएका छन्। बम विस्फोट कसरी र कसले गर्‍यो खुलेको छैन।

अफगानिस्तान मामिला समेत हेर्ने भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले विमानस्थलबाहिर विस्फोट भएकोले टाढै रहन त्यहाँका नेपालीलाई आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell