काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन मंसिर ९ गतेबाट काठमाडौंमा हुने तय भएसँगै पार्टीका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोल्ने भएका छन्।
उपसभापति निधिले आज काठमाडौंस्थित बानेश्वर बैंक्वेटमा दिउँसो साढे १२ बजे सम्पर्क कार्यालयको उद्घाटन गर्दैछन्।
हालका सभापति शेरबहादुर देउवाका निकटतम सहयोगी मानिने निधिले यसपटक सभापतिमा दाबेदारी प्रस्तुत गरिसकेका छन्। देउवाले पनि सभापतिमा पुन दोहोरिने अडान गरिरहेका छन्। यस्तो बेला आफ्नो पक्षबाटै देउवालाई निधिले टक्कर दिन लागेका हुन्।
देउवा यतिबेला गठबन्धन सरकारको नेतृत्व गर्दै सत्ता सम्हालिरहेका छन्। निधिले देउवासँग पटकपटक भेटेर यसपटक आफूले सभापति पदमा उम्मेद्वारी दिने जानकारी दिइसकेका छन्। तर देउवाले भने एकचोटि आफूलाई छाडिदिन निधिलाई सुझाव दिने गरेका छन्।
यस्तो अवस्थामा आफ्नै गुटबाट सभापतिमा उम्मेद्वारी पर्नु देउवाका लागि खुसीको खबर भने होइन। देउवाले निधिलाई मनाउन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुलाई आफूतिर तान्ने प्रयास जारी राखेको बताइएको छ।