काठमाडौं : नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले राष्ट्रिय खेलकुद परिषद्ले हस्तक्षेप गररै भए पनि बक्सिङको विवाद मिलाउन अनुरोध गरेका छन्। एनएसजेएफ एकेडेमीको 'नो योर गेम' अन्तर्गतको बक्सिङसम्बन्धी तालिमको उद्घाटनमा बोल्दै महासचिव भट्टाचार्यले राखेपको सहयोग मागेका हुन्।
इन्टरनेसनल बक्सिङ दिवसको अवसरमा पारी भएको उद्घाटन कार्यक्रममा राखेपका सदस्य सचिव रमेश सिलवालले आफूले विवाद समाधानका लागि पहल गर्ने बताए। 'विवादलाई हल गर्न म पहल गर्छु। आज दुईतिर कार्यक्रम छ। एकैतिर गरे नि हुन्थ्यो या पाए हुन्थ्यो। भाँच्चिएको सम्बन्धलाई छलफल गरेर मिलाउनु पर्छ,' सिलवालले भने।
त्यसैगरी सदस्य सचिव सिलवालले अन्तर्राष्ट्रिय प्रतियोगितामा बक्सिङ खेलमा मेनेजरको जन्ती लागेकोप्रति प्रश्नसमेत गरे। 'भलिबलमा एक जना म्यानेजर हुँदा हुने, बक्सिङ्मा किन ६ जना खेलाडीमा ३ जना म्यानेजर? यत्रो जन्ती किन?' सिलवालको प्रश्न थियो। पछिल्लो समय बक्सिङ संघको केन्द्रीय कमिटीमा स्पस्ट दुई धार देखिएपछि विवाद बढ्न थालेको हो।