PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सीमावर्ती भारतीय बजार छौडादानोबाट ७ युवतीको उद्धार, एक नेपाली महिलासहित दुई जना पक्राउ



सीमावर्ती भारतीय बजार छौडादानोबाट ७ युवतीको उद्धार, एक नेपाली महिलासहित दुई जना पक्राउ
पक्राउ परेका विकेश कुमार र अजिमा खातुन।

वीरगंज : पर्सा प्रहरीले भारतको बिहार राज्यको छौडादानोबाट ७ जना नेपाली युवतीको उद्धार गरेको छ। वीरगंजको आफन्त नेपाल नामक गैरसरकारी संस्था र भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई शुक्रवार उद्धार गरी वीरगंज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बाराको सीमावर्ती भारतीय बजार छौडादानो नगर पञ्चायत-११ आदापुर बजारबाट प्रहरीले युवतीको उद्धार गरेको हो। वैवाहिक कार्यक्रममा नृत्यको रुपमा प्रयोग गर्ने अर्केष्ट्रा समूहमा महिनाको लाखौंको तलब दिन्छु भनी फकाएर उनीहरुलाई भारतको बिहार हुँदै अन्य राज्यको कोठीमा बेच्ने योजना रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

युवतीहरुलाई ललाई फकाई त्यहाँ लगिएको र त्यसपछि मोबाइल खोसेर अध्यारो कोठामा थुनेर राखिएको परिवारजनलाई खबर भएपछि आफन्त नेपाल हुँदै पर्सा प्रहरीमा उद्धारको लागि निवेदन परेको थियो। पूर्व सूचनाको आधारमा बिहार पुलिससँग समन्वय गरी उनीहरुको उद्धार गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक पाण्डेले बताए।

प्रहरीले छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ छौडादानो नै बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुनलाई पक्राउ गरेको हो। उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जना अर्केष्ट्राको सञ्चालक र युवतीलाई अन्य राज्यमा बिक्री गर्ने दलालीको काम गर्ने गरेका थिए। उद्धार गरिएकी ७ युवतीहरु पूर्वी, मध्य र पश्चिम नेपालको विभिन्न पहाडी जिल्लाका युवतीहरु रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell