काठमाडौं : भारतको सिक्किमदेखि आएर कमेडी च्याम्पियन सिजन २ को फाइनल पुग्ने प्रयासमा छन् विक्की अग्रवाल। विक्की मौलिक र फरक प्रस्तुतिका लागि चिनिन्छन्। अन्तिम ४ को प्रतिस्पर्धामा भने उनले त्यही फरक गर्ने क्रममा नयाँ प्रस्तुती दिए। कमेडी च्याम्पियनको स्टेजमा नै पहिलोपटक ‘पेन्टोमाइम' प्रयोग गरे।
पेन्टोमाइम अभिनयको सुरुवात बेलायतबाट भएको हो। संगीतमय माहोलमा नबोली अभिनय मात्र गरेर दर्शकलाई हसाँउनु यो अभिनयको विशेषता हो।
'मानिस निदाएको बेला मन कसरी सक्रिय हुन्छ?' भन्ने विषयवस्तुमा बिक्कीले संवाद बिना नै अभिनय गरेका थिए। मोनोलगको सहारामा विक्कीले दिएको प्रस्तुति कलात्मकका फरक टेस्टको थियो। तर उनको प्रस्तुतिमा ‘कमेडी’ को स्वाद कम थियो। फलरुवरुप च्याम्पियनको स्टेजमा पहिले झै हाँसो गुन्जिन सकेन।
विक्कीले गरेको 'पेन्टोमाइम' प्रस्तुतिमा सन्तोष पन्तबाहेकका तीन जना निर्णायकले ‘स्टान्डिङ अवेसन’ दिए। टप ४ मा पुगेर विक्कीले लिएको जोखिमको समेत प्रशंसा भयो। प्रदिप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले विक्कीको प्रशंसा गरिरहँदा सन्तोष पन्त भने विक्कीप्रति सन्तुष्ट भएनन्।
फरक प्रस्तुति दिएकोमा सन्तोषले विक्कीलाई बधाई त दिए। तर यो अभिनय नेपालको माहोल सुहाउने नभएको बताए।
‘नयाँ प्रयोग गरेकोमा बधाई छ। तर, हाम्रो हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइलमा फरक छ। यो प्रयोग तिम्रो लागि गाह्रो पर्न सक्छ। हाम्रो समाजले यसलाई वुझ्दैनन्, मैले त वुझिनँ। फिलोसोपी त भयो। तर, तिम्रो प्रस्तुति हेरेर कोही हाँस्यो त? यहाँ त कोही हाँसेन। हाम्रो आफ्नै टेस्ट छ। त्यसलाई नै फलो गर।’
सन्तोष पन्तको कमेन्टसँगै विक्कीले जवाफ दिदैँ भने 'शुक्रबार बेलुकीसम्म पनि स्ट्यान्डअप गर्ने कि पेन्टोमाइम गर्ने भन्ने थियो। तर केही फरक दिन मैले पेन्टोमाइम नै रोजे। मलाई पेन्टोमाइम गरेको कारण कुनै पश्चाताप छैन। कमेडी च्याम्पियनको सेटमा म जित्न भन्दा पनि केही नयाँ गर्न आएको हुँ।'
साथै आफू टप ४ बाट बाहिरिए पनि कुनै पछुतो नहुने उनले बताए।
त्यसपछि प्रदिप भट्टराईले थप बोल्दै गर्दा विक्की अचानक स्टेजबाट बाहिरिएका थिए। उनी ब्याकस्टेजमा गएर रुन थालेपछि कार्यक्रममै सन्नाटा छाएको थियो।
निर्णायक सन्तोष पन्तको उक्त प्रतिक्रियाको अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। विक्कीको समर्थन गर्दैँ ट्विटर तथा फेसबुकमा सन्तोष पन्तको ‘कला–चेत’माथि नै प्रश्न उठाउने जमात खडा भएको छ। साथै सन्तोषलाई कमेडीको विधाबारे ज्ञान नभएको भनि आरोप लागेको छ।
ट्विटरमा एक प्रयोगकर्ताले लेखेका छन् 'विक्की अग्रवाल चै प्रतिभावान नै हुन्! सन्तोष पन्त के खाले के कलाचेत भको मान्छे यार! त्यो टाइपे कमेन्ट।'