PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा कोभिड-१९ एन्टिबडी देखियो : स्वास्थ्य मन्त्रालय



पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा कोभिड-१९ एन्टिबडी देखियो : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा मात्र खोप लगाएका ८० प्रतिशत व्यक्तिहरुमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा कोभिड-१९ एन्टिबडी देखिएको बताएको छ।

मन्त्रालयले कोभिड-१९ संक्रमणको अवस्थालाई सूक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउने उद्देश्यले देशभरीका ६ महिना भन्दा बढी उमेरका व्यक्तिहरुलाई समेटी गत असार २१ देखि साउन ३० गतेसम्ममा १३ हजार १६१ नमुनाको विश्लेषण गरेको थियो। सो सर्भेको प्रारम्भिक नतिजा अनुसार देशभरी ६८ दशमलव ६ प्रतिशत नमूनामा कोभिड-१९ एन्टिबडी देखिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेशा, तथा सबै समूहमा लगभग समान रुपमा नै एन्टिबडी देखिएको मन्त्रालयले बताएको छ। यसबाट हाल लगाईराखेका खोपहरु अत्यन्त प्रभावकारी रहेको देखिएको मन्त्रालयको ठम्याइ छ।

मन्त्रालयले भनेको छ, ‘भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायमै रहेकोले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय हो। जुन हालको अवस्थामा समेत निकै सान्दर्भिक छ। अतः भौतिक दुरि कायम गर्ने गराउने, भिडभाड नगर्ने नगराउने, घर बाहिर निस्कनै पर्ने भएमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने, सरसफाईमा ध्यान दिने र आफ्नो पालो अनुसार कोभिड-१९ विरुद्धको खोप लगाउन पर्दछ।’

कोभिड-१९ संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण भएमा आफ्नो स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क परीक्षण गर्न अनुरोध गर्दै मन्त्रालयले नजिकको सरकारी स्वास्थ्य संस्थारप्रयोगशालामा निःशुल्क परीक्षण हने व्यवस्था समेत रहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell