PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रदेश २ मा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छिट्टै सरकारमा सहभागी हुने!



सुमित मिश्र

प्रदेश २ मा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छिट्टै सरकारमा सहभागी हुने!

जनकपुरधाम : प्रदेश नम्बर २ मा नेकपा (एमाले)बाट विद्रोह गरी गठित माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश सरकारमा तत्कालै सहभागी हुने भएको छ।

नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएसँगै दलीय गठबन्धन अनुसार संघीय सरकार र प्रदेश सरकारमा समेत सहभागी भएर मन्त्रिपरिषद् विस्तार गरी प्रदेश २ मा पनि नयाँ मन्त्री थपिने भएको छ।

एकीकृत समाजवादी पार्टीका नेता सत्रुधन महतोले बुधवारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा सहभागी हुने बताए।

‘भोलि वा पर्सिसम्ममा पार्टीको सनाखत कार्य हुनेछ। त्यसपछि संसदीय दलको नेता चयन गरेर सरकारमा सहभागिताका विषयमा छलफल हुन्छ,’ महतोले भने।

प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वको सरकार छ। पछिल्लो समय सो गठबन्धनको सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र समेत सहभागी भएका छन्।

कांग्रेस र माओवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले ६ वटा मन्त्रालयलाई फुटाएर ११ वटा मन्त्रालय बनाएका थिए। जसमध्ये जसपाका ४, कांग्रेसका ३ र माओवादीका १ मन्त्री छन् भने अन्य २ मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले आफूसँगै राखेका छन्।

वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय मुख्यमन्त्री राउतले आफ्नै मातहतमा राखेका छन्। यी दुवै मन्त्रालय माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई दिई सरकारमा सहभागी गराउने आन्तरिक तयारी मुख्यमन्त्री राउतको छ।

नेता महतोले सनाखतपछि मात्रै मन्त्रालयका विषयमा छलफल हुने बताए। यसअघि जेठमा कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका १ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएका थिए।

माओवादी केन्द्रलाई सरकारमा ल्याउन जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका १ मन्त्री र १ राज्यमन्त्रीलाई राजीनामा दिनु परेको थियो।

माधव समूहमा कति जनाले सनाखत गर्लान्?

एमाले विभाजित हुँदा ७ मध्ये ६ वटा प्रदेशमा ओली पक्ष मजबुत स्थितिमा रहे पनि प्रदेश २ मा भने माधव पक्ष राम्रो स्थितिमा छ। अहिले नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीले गाउँ, वडा र पालिका स्तरमा धमाधम कमिटीहरु ब्यूँताउने कार्यमा अग्रसर भएको देखिन्छ।

प्रदेश २ को १०७ सदस्यीय प्रदेशसभामा अहिले १०४ जना प्रदेश सभा सदस्यहरु छन्। नेकपा विभाजित भएपछि ३ जना प्रदेशसभा सदस्य एमालेतर्फ फर्किँदा माओवादी केन्द्रले उनीहरुलाई कारबाही गरेको थियो।

प्रदेश २ सभामा एमालेका २१ जना प्रदेशसभा सदस्य छन्। एमाले विभाजित हुँदा प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टी मजबुत स्थितिमा छ। २१ मध्ये माधव पक्षमा १३ जना प्रदेशसभा सदस्य छन्।

बाँकी ८ जना भने केपी ओलीको पक्षमा छन्। प्रदेशसभामा एमालेबाट चुनाव जितेका प्रदेशसभा सदस्यहरुमध्ये अशोककुमार यादव, गोविन्द बहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोद कुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेंची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु नेपाल समूहमा लागेका छन्। यि सबैले नेकपा एकीकृत समाजवादीमै सनाखत गर्नेमा आफू पूर्ण विश्वस्त रहेको एकीकृत समाजवादी पार्टीका नेता सत्रुधन महतोले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell