PahiloPost

Jul 3, 2024 | २० असार २०८१

जयसिंह धामी घटना : घटना भएको एक महिनापछि छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन



जयसिंह धामी घटना : घटना भएको एक महिनापछि छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं : दार्चुलाका जयसिंह धामीको घटनामा अनुसन्धान सकेर समितिले छानबिन प्रतिवेदन बुझाएको छ। घटना भएको एक महिनापछि समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो।

जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएका थिए। अहिलेसम्म जयसिंहको अवस्थाबारे पत्ता लाग्न सकेको छैन।

सरकारले साउन १७ गते जयसिंहको घटनाबारे अनुसन्धान गर्न पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। गृह मन्त्रालयका सह सचिव जनार्दन गौतमको नेतृत्वमा पाँच सदस्य छानबिन टोली गठन गरिएको थियो।

समितिमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेका छन्।

साउन २५ गते समितिको सात दिन म्याद थपिएको थियो। त्यस समयमा पनि समितिले काम गर्न सकेन। त्यसपछि भदौ १ गते फेरि अर्को सात दिनको म्याद थपियो। यस पटक पनि समितिले प्रतिवेदन बुझाएन। भदौ ८ गते फेरि म्याद थपेर भदौ १५ (आज) सम्म पुर्‍याइएको थियो।

यसैबीच, नवलपरासी (पश्चिम)मा भएको सवारी दुर्घटनाबारे छानबिन गर्न बनेको समितिले पनि प्रतिवेदन बुझाएको छ।

नवलपरासी (पश्चिम)मा मोटरसाइकलको ठक्करबाट इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको गत साउन २५ गते भएको मृत्युबारे छानबिन गर्न २९ साउनमा मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा समिति गठन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell