PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

प्रदेश २ मा लोसपाका स्थानीय जनप्रतिनिधिहरुको सनाखत शुरु, केही जिल्लामा हुन सकेन सनाखत



सुमित मिश्र

प्रदेश २ मा लोसपाका स्थानीय जनप्रतिनिधिहरुको सनाखत शुरु, केही जिल्लामा हुन सकेन सनाखत

जनकपुरधाम : जसपाबाट अलग भएर नयाँ दर्ता भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लागि प्रदेश २ मा मंगलवारदेखि सनाखत शुरु भएको छ। यस्तै, नेकपाबाट अलग भएर नयाँ दर्ता भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको पनि सनाखत शुरु भएको छ।

मंगलवार नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) छोडेर नयाँ पार्टीमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिहरुले जिल्लास्थित निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गराएका हुन्। निर्वाचन आयोगले नयाँ दलमा जान चाहने जनप्रतिनिधिहरुलाई भदौ १ गतेदेखि भदौ २२ गतेसम्मको समय दिएको छ।

मंगलवार पहिलो दिन लोसपामा जान चाहने प्रदेश २ का स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गराएका हुन्। धनुषामा तत्कालिन राजपाबाट निर्वाचित भएका १ सय १२ जनप्रतिनिधिहरुमध्ये ५४ जनाले महन्थ ठाकुर नेतृत्वको लोसपामा सनाखत गरेका छन्। निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिन आफैँ निर्वाचन कार्यालय पुगेर सनाखत गर्नुपर्ने व्यवस्था अनुरुप जनप्रतिनिधि स्वयं उपस्थित भएर सनाखत गरेका हुन्।

यस्तै, महोत्तरीमा तत्कालिन राजपाका २ सय १५ जनप्रतिनिधि रहेकोमा लोसपामा १ सय २ जनाले सनाखत गराएको लोसपाका नेता एवं पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले जानकारी दिए। पर्सा, सप्तरी र सर्लाहीमा सनाखत शुरु हुन नसकेको जिल्ला निर्वाचन आयोगका कार्यालयहरुले जनाएको छ।

धनुषाको १८ स्थानीय तहमध्ये १२/१२ नगर प्रमुख/उपप्रमुख, ६/६ अध्यक्ष/उपाध्यक्ष, १ सय ६९ वडाध्यक्षहरु, ६ सय ४३ वडा सदस्य गरी ८४८ जना जनप्रतिनिधि रहेका छन्। जसमध्ये तत्कालिन राजपाबाट २ नगर प्रमुख/उपप्रमुख २१ जना वडा अध्यक्षहरु र ८७ जना वडा सदस्यहरु गरी १ सय १२ जना जनप्रतिनिधि रहेको थिए। जसमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह तत्कालिन राजपाबाट निर्वाचित भएपनि जसपामा प्रवेश गरी सकेका छन्।

त्यस्तै, एमाले छोडेर एकीकृत समाजवादीमा गएका प्रदेश सांसदहरुले बुधवार निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने भएका छन् भने लोसपाका प्रदेश सांसदहरुले बिहीवार सनाखत गर्नेछन्।

शुक्रवारदेखि एकीकृत समाजवादी पार्टीका र लोसपाबाट छुटफुट भएका स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गर्ने कार्यक्रम रहेको निर्वाचन आयोग प्रदेश २ का प्रमुख पुष्पा झाले जानकारी दिइन्। त्यस्तै, एमाले छोडेर एकीकृत समाजवादीमा गएका प्रदेशसभा सदस्यले बुधवार निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने तयारी गरेका छन्।

एमाले छोडेर नयाँ पार्टीमा प्रवेश गरेका प्रदेशसभा सदस्यले बुधवार सनाखत गर्ने तयारी रहेको एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बताए।

‘भोलि निर्वाचन कार्यालय गएर सनाखत गर्छौँ, पर्सि बैठक बसेर संसदीय दलको नेता चयन गर्छौँ,’ महतोले भने।

लोसपामा गएका प्रदेश सांसदले भने एक/दुई दिनभित्रै सनाखत गर्ने बताएका छन्। त्यसका लागि बुधवार लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी जनकपुरधाम आउँदै छन्।

त्यसपछि प्रदेश सांसदले नयाँ पार्टी प्रवेश गरेको निर्वाचन आयोगलाई जानकारी दिने तयारी रहेको लोसपा नेता वृषेशचन्द्र लाल बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell