PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

देउवाको नेतृत्वमा कांग्रेसले गरिखाँदैन, धेरै दाबेदार भए नेतृत्व उनकै हातमा पुग्छ : केसी  



देउवाको नेतृत्वमा कांग्रेसले गरिखाँदैन, धेरै दाबेदार भए नेतृत्व उनकै हातमा पुग्छ : केसी  

काठमाडौं :  भोलिबाट नेपाली कांग्रेसको महाधिवेशन शुरु हुँदैछ। वडा अधिवेशनका लागि गाउँगाउँमा भोलि निर्वाचनसमेत हुँदैछ। यता केन्द्रमा पनि यसको सारगर्मी बढेको छ।

नेताहरुले धमाधम उम्मेद्वारी घोषणा गर्दैछन्। पार्टीका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेर सभापतिमा लड्ने भन्दै उम्मेद्वारी घोषणा गरिसकेका छन्। केन्द्रीय सदस्य कल्याण गुरुङले बुधवार अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी सभापतिमा लड्ने घोषणा गरे।

यसपटक अहिलेकै सभापति शेरबहादुर देउवाले पुन दोहोरिने इच्छा देखाइरहेका छन्।

संस्थापन पक्षबाटै देउवालाई निधिले चुनौति दिइसकेका छन्।

यता संस्थापनइतर पक्षबाट भने कुनै सहमति जुट्न सकेको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेलले साझा उम्मेद्वार चयनका लागि हरदम प्रयास गरे पनि सहमति जुट्न सकेको छैन। संस्थापनइतरमा पौडेलसहित, प्रकाशमान सिंह, महामन्त्री डा शशांक कोइराला, डा शेखर कोइरालाले सभापतिमा दाबेदारी प्रस्तुत गर्ने जनाइरहेका छन्। यी सबैलाई एकले अर्कालाई मनाउन नेताहरु लागिपरेका छन्।

यसैबीच संस्थापनइतर मानिने यी नेताहरु आज दिउँसो २ बजे सानेपामा सँगै देखिने भएका छन्। सानेपामा आयोजना हुने पत्रकार सम्मेलनमा साझा उम्मेद्वार तय नभए एकै ठाउँमा छौं भन्ने सन्देश दिने तयारी गरिएको छ।

'संस्थापनइतरका आकंक्षी केन्द्रीय कार्यसमितिका साथीहरु यो अधिवेशनमा एक भएर जान्छौ भन्ने सहमति भएको छ, त्यही कुरा प्रवाहका लागि पत्रकार सम्मेलन आयोजना गरिएको हो,' केन्द्रीय सदस्य बलबहादुर केसीले पहिलोपोस्टसँग भने। संस्थापनइतर पक्षले वडाअधिवेशन अघि नै एकल उम्मेद्वार घोषणा गर्ने तयारी गरेको थियो। यद्यपि यसमा सहमति जुट्न सकेको छैन। पार्टीको नाममा एक हुने प्रयास जारी रहेको नेता केसीले बताए।

हालका सभापति देउवाको नेतृत्व रहुन्जेल काँग्रेसले गरिनखाने हुनाले एक भएर लड्नुको विकल्प नभएको केसीले बताए। 'गाउँघरकै ठेट भाषामा भन्दा देउवाको नेतृत्वमा कांग्रेसले गरिखाँदैन। धेरै दाबेदार भए गरिनखानेकै हातमा नेतृत्व पुग्छ,' नेता केसीले भने, 'त्यही भएर एक हुनुको विकल्प छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell