PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

प्रदेश २ : एकीकृत समाजवादीको पक्षमा १० र लोसपाको पक्षमा १२ जना प्रदेशसभा सदस्यले गराए सनाखत



सुमित मिश्र

प्रदेश २ : एकीकृत समाजवादीको पक्षमा १० र लोसपाको पक्षमा १२ जना प्रदेशसभा सदस्यले गराए सनाखत

जनकपुरधाम : नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीको पक्षमा १० जना प्रदेशसभा सदस्यले सनाखत गराएका छन्। यस्तै, जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा १२ जना प्रदेशसभा सदस्यहरुले सनाखत गराएका छन्।

जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर लोसपाका १२ र नेकपा एकिकृत समाजवादीको पक्षमा १० जना प्रदेश २ का प्रदेशसभा सदस्यहरुले सनाखत गराएका हुन्।

बुधबार लोसपाको पक्षमा १० जना प्रदेशसभा सदस्यहरुले निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गराएका थिए भने आज थप २ जना प्रदेशसभा सदस्यहरुले सनाखत गराएका हुन्। लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा सुरिता साह, जयनुल राइन,  बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनारायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह डिम्पल झा  र प्रहलाद गिरी  रहेका छन्।

नेकपा एकिकृत समाजवादीको पक्षमा बिहिबारसम्म १० जना प्रदेशसभा सदस्यहरु उपस्थित भएर सनाखत गराएका छन्। एक जना अस्वस्थ भएकाले निवर्गाचन आयोगमा निवेदन पठाएर पत्र मार्फत सनाखत गराउने बताइएको छ। 

सनाखत गराउने प्रदेशसभा सदस्यहरुमा मदनसेन श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, शत्रुधन महतो, रबिन्द्र बैठा, मञ्जु यादव, हसिमा खातुन, बेची लुंगेली, अशोक यादव र प्रमोद यादव छन्।

प्रदेशसभा सदस्य डिल्ली उप्रेती क्यान्सर पीडित रहेको र स्वास्थोपचारको क्रममा नयाँ दिल्लीमा रहेकोले उताबाटै उनको निवेदन आए लगत्तै सनाखत गराइने नेकपा एकिकृत समाजवादी पार्टीका नेता शत्रुधन महतोले जानकारी दिए।

त्यस्तै सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुंगले आइतबार सनाखत गराउने उनले बताएका थिए। उनले विश्वकर्मा र गुरुंग नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गराउने दाबी गरेपनि वीरगंजमा एमालेको प्रदेशस्तरीय बैठकमा सहभागी रहेको पाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell