काठमाडौं : नेपाल र भारतबीचको मैत्रीपूर्ण सिरिज अन्तर्गत बिहीवार पहिलो खेल सम्पन्न भएको छ। आज सम्पन्न खेलमा अग्रता जोगाउन नसकेको नेपाल भारतसँग १-१ को बराबरीमा रोकियो।
खेललाई लिएर भारतीय प्रशिक्षक इगोर स्टिमाकले पहिलो हाफमा भन्दा दोस्रो हाफमा राम्रो भएको प्रतिकृया दिए।
‘सबै पक्ष हेर्दा खेल एक्साइटिङ भयो। दुबै टिमलाई मौकाहरु राम्रो मिलेको थियो। हामी पनि थप केही गोल गर्न सक्ने अवसर मिलेको थियो’, उनले भने, ‘यो म्याचलाई दुईवटा फेसबाट हेर्नुपर्छ। पहिलो हाफ राम्रो भएन। पहिलो हाफमा खुशी थिइनँ। त्यसैले दोस्रो हाफको शुरुमै मैले ४ जना खेलाडी परिवर्तन गरेँ। दोस्रो हाफ धेरै राम्रो भएको थियो।’
त्यस्तै, घरेलु मैदानले नेपाली टोलीलाई फाइदा पुगेको उनले प्रतिकृया दिए।
‘घरेलु मैदानमा दर्शकका अघि खेल्दा पक्कै घरेलु टोलीलाई सहज हुन्छ। मलाई कुनै दबाब थिएन। दबाब हुनका लागि कुनै कारण पनि थिएन’, उनले भने, ‘नेपाली टिमले साह्रै धेरै तयारी गरेको थियो। तर, हामीले धेरै तयारी गर्न पाएका थिएनौं।’
यद्यपि, मैदानले नेपाललाई फाइदा गरेको भन्ने अभिव्यक्तिलाई लिएर नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले उनको ओपिनियनमा प्रतिकृया नदिने बताए पनि मैदान दुवै टिमका लागि एउटै भएको बताए।
‘मैदान उनीहरु र हाम्रो लागि एउटै थियो। मैदानको कारण खेलस्तर फरक भयो भन्ने कुरा तार्किक सुनिँदैन,’ अलमुताइरीले भने।