PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

कांग्रेसलाई बलियो पार्टी बनाउने देउवाको उद्घोष : बलियो कांग्रेसबाटमात्रै देशको विकास सम्भव छ



कांग्रेसलाई बलियो पार्टी बनाउने देउवाको उद्घोष : बलियो कांग्रेसबाटमात्रै देशको विकास सम्भव छ

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी वडा अधिवेशन हुने दिन भिडियो सन्देश जारी गरेका छन्। सभापति देउवाले कोरोना महामारीका बीच संवैधानिक बाध्यताका कारण महाधिवेशन गर्नु परेको उल्लेख गर्दै सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन्।

'संवैधानिक वाध्यताका अनुसार कोरोना महामारीका बीच शुरु भएको महाधिवेशनमा सर्वप्रथम सामाजिक दुरी कायम राख्न अनुरोध गर्दछु,' प्रधानमन्त्री देउवाले भनेका छन्, 'आज म निकै खुसी छु ८ लाखभन्दा बढी नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु आजबाट १४ औं महाधिवेशनको प्रक्रियामा सहभागी हुनुभएको छ। मैले ती सबैको जोशजाँगर र सहयोगको अनुभुति गरिरहेको छु।'

आन्तरिक लोकतन्त्रमा कांग्रेस सदैव अगाडि रहेको उल्लेख गर्दै देउवाले स्वस्थ प्रतिस्पर्धाले जनजनमा नयाँ रक्तसञ्जार गर्नेसमेत बताए। 'लोकतान्त्रको पर्यायको रुपमा रहेको हाम्रो पार्टी कांग्रेस लोकतन्त्रिक अभ्यासमा सधै अग्रणी सावित गर्दै आएको छ। नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधै अगाडि छ,' देउवाले थप भनेका छन्, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो। स्वस्थ्य प्रतिस्पर्धाले पार्टीका संगठनमा जग मजबुत बनाउँदै जनजनमा रक्तसञ्चार गर्दछ।'

देउवाले संघीय लोकतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेकोसमेत बताएका छन्। उनले भनेका छन्, 'देभरका साथीभाईहरुलाई लोकतन्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत सहभागी हुन अनुरोध गर्दछु। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसलाई बलियो बनाउन जरुरी छ।'

बलियो कांग्रेसबाटमात्रै देश विकास सम्भव रहेको उल्लेख गर्दै देउवाले यसबारेको नारा साकार पार्न कार्यकर्तालाई आह्वान गरेका छन्। 'नेपाली जनताले बुझिसकेका छन् - बलियो कांग्रेसबाटमात्र समग्र देशको विकास सम्भव छ,' सभापति देउवाले भनेका छन्, 'त्यसैले बलियो कांग्रेस समृद्ध देश भन्ने नारालाई साकार पार्न पार्टीका हरेक तहका साथीभाईहरुलाई आग्रह गर्न चाहन्छु। कांग्रेसको विगतको योगदान जनताको भरोसा र परिपक्वताका र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको छ।'

जनताको विश्वास जितेर अघि बढ्ने प्रणसमेत देउवाले भिडियो सन्देशमा गरेका छन्। भनेका छन्, 'म तपाईहरुलाई जनताको विश्वास जितेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देशमार्फत गर्न चाहन्छु।'

कांग्रेसलाई सशक्त बनाउने अभियानमा नेता कार्यकर्ता होमिसकेको उल्लेख गर्दै देउवाले गाउँ टोलका मुद्दालाई आफ्नो बनाउनसमेत आग्रह गरेका छन्। 'हामी १४ औं महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउनेमा अभियानमा हामी होमिसकेका छौं,' देउवाले भनेका छन्, 'पार्टीका साथीहरुले प्रत्येक गाउँका मुद्दाहरुलाई आफूसँग गाँस्दै हरेक गाउँटोलको भावनालाई नेतृत्व गर्दै ती सबै सबै मुद्दालाई सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक गाउँमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु।'

अन्त्यमा देउवाले अधिवेशनमा सहभागी सम्पूर्णलाई बधाईसमेत दिएका छन्। भनेका छन्, 'आजदेखि शुरु हुने वडा अधिवेशनमा सहभागि हुन सबै आदरणीय साथीहरुलाई स्वागत तथा बधाई दिन चाहन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell