PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

अर्घाखाँचीको मालारानी गाउँपालिकामा घर-घरमा पुग्यो खानेपानीको धारा



अर्घाखाँचीको मालारानी गाउँपालिकामा घर-घरमा पुग्यो खानेपानीको धारा

बुटवल : ‘एक घर एक धारा’ अभियानले अर्घाखाँचीको मालारानी गाउँपालिका गाउँबस्तीमा सार्थकता पाउँदै गएपछि स्थानीयमा खुसीयाली छाएको छ। घर-घरमा धारा पुगेपछि घण्टौँ धाएर खानेपानी ल्याउनु पर्ने बाध्यता हल भएपछि गाउँले खुसीले गदगद भएका हुन्।

पछिल्लो २ वर्षमा मात्र मालारानीका झन्डै पन्ध्र सय स्थानीयको घरमा धारा जडान गरिएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए। चुनावमा जनताहरुलाई दिएको वाचाअनुसार काम गरिरहेको बताउँदै आचार्यले नपुगेका ठाउँमा अहिलेको बजेटमा प्राथमिकता दिइएको आचार्यको भनाइ छ।

आठ वडा रहेको गाउँपालिकामा केही स्थानमा विद्युतीय लिफ्टिङबाट खानेपानी लिइरहेका उपभोक्ताहरुलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइरहेको मालारानी गाउँपालिकाका सवइञ्जिनियर हरिशचन्द्र पाण्डेले जानकारी दिए। मालारानी गाउँपालिका वडा नम्बर ३ का स्थानीयहरुलाई जिल्लामै पहिलो प्रयोग गरिएको बोरिङमार्फत खानेपानी पुऱ्याइएको गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले बताइन्। ३ सय मिटर तल जमिन मुनिबाट पानी निकालेर ट्यांकीमार्फत गाउँहरुमा खानेपानी वितरण गरिएको छ।

झण्डै सात करोडको लगानीमा गाउँपालिकाका सबै जसो वडाहरुमा खानेपानी पहुँच पुऱ्याइएको प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले बताए। हालको बजेटमा अपुरा रहेका खानेपानी योजनाहरुलाई प्राथमिकतामा राखी बजेटलाई प्राथमिकता दिइएको योजना प्रमुख नेत्रप्रसाद खनालले जानकारी दिए।

पर्यटन, सहकारी, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिकाले आर्थिक वर्षमा पनि सोहीअनुसार प्राथमिकता राखी बजेट निर्माण भएको जनाइएको छ। खानेपानीका मुहान संरक्षणतर्फ पनि काम भइरहेको योजना शाखाका कर्मचारी पदम आचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell