.jpg)
काठमाडौं : आइतवार मध्यराति आएको वर्षाका कारण राजधानीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वाग्मतीलगायत विभिन्न नदीमा पानीको बहाव बढेसँगै केही क्षेत्र डुबानमा परेका छन्।
बाढीका कारण काठमाडौँमामात्रै ३८२ घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशील सिंह राठौरले बताए। उनका अनुसार बाढीमा परेका १३८ जनाको उद्धार भएको छ। मूलपानी, मनोहरा, बल्खु, नयाँवस्ती, कपनलगयत क्षेत्र बाढीका कारण बढी प्रभावित छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना उद्धारमा खटिएका छन्। अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनायो।
बाढीले विष्णुमतीका केही क्षेत्र डुबानमा परेको छ। यता बल्खु क्षेत्रको सुकुम्बासी वस्ती डुबानमा परेको छ। यस क्षेत्रमा केही सवारी साधनसमेत बगाएका छन्। अहिले प्रहरी त्यस क्षेत्रमा उद्धारमा खटिएका छन्।
यसैगरी बल्खु तरकारी बजारमा पनि बाढी पसेको छ। बाढी पसेपछि यहाँका पसलेहरु आफ्नो सामान जोगाउन र सम्हाल्न लागिपरेका देखिन्छन्।