PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

‘नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल’मा तीन नेपाली फिल्म पनि देखाइने



‘नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल’मा तीन नेपाली फिल्म पनि देखाइने

काठमाडौं : नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले ‘नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल २०७८’ अनलाइन प्लाल्टफर्म ‘फेस्टिभल स्कोप’मार्फत आयोजना गर्नेछ।

महोत्सवको दशौँ संस्करण आउँदो असोज १ देखि ९ सम्म सञ्चालन हुनेछ। महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्मका साथै अन्य २४ फिल्महरू प्रदर्शन गरिने छन्।

फेस्टिभलमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली फिल्महरू समावेश गरिएका छन्। जसमध्ये दुई ओटा फिल्म नेपाली भाषामा सबटाइटल गरिएका छन्। साथै, फेस्टिभलमा तीन ओटा पुरस्कार जित्न सफल नेपाली फिल्महरू पनि समावेश गरिएका छन्। विनोद पौडेल निर्देशित ‘बुलबुल’, धोन्डुप छिरीङ निर्देशित ‘आमा खान्डो’ तथा सर्जियो बास्सो निर्देशित ‘सरिता’ समावेश छन्।

साथै, फेस्टिभलमा नन्दन सक्सेना तथा कविता भालद्वारा निर्देशित ‘आई क्यान नट् गिभ यू माई फरेस्ट’ देखाइने छ। जुन उत्कृष्ट कृषि चलचित्र विधामा भारतको राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत चलचित्र हो।

गणेश पाण्डे निर्देशित ‘को-हजबेन्ड्स्’ तथा राजन कठेत निर्देशित ‘स्प्लिट् एन्ड्स्’ दुई सर्ट फिल्म समेत प्रदर्शन गरिनेछन्।

रादु कोर्निसिसुको ‘वर्ल्ड सिनेमा डकुमेन्ट्री कम्पिटिसन’ तथा सनडान्स फिल्म फेस्टिभलमा पहिलो पटक प्रदर्शन गरिएको ‘अकासा माई होम’ नामक वृत्तचित्र देखाइनेछ। जुन वृत्तचित्रमा नेपाली भाषाको सबटाइटल रहेको छ।

अर्को युरोपेली फिल्म ‘हर जब’मा पनि नेपाली भाषाको सबटाइटल राखिएको छ। ‘हर जब’ निर्देशक लेबोटको पहिलो फिचर फिल्म हो। जसलाई ४३ औँ ‘टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा पहिलो पटक प्रदर्शित गरिएको थियो। अन्य फिल्महरूमा अंग्रेजी सबटाइटल राखिएका छन्।

साथै, महोत्सवमा २३ ओटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित चलचित्र समावेश गरिएका छन्।

यस वर्षको संस्करणमा लैंगिक समानता शीर्षकमा लघु चलचित्र प्रतिस्पर्धा समेत आयोजना गरिएको छ। यस प्रतियोगिताको लागि कुल १५ फिल्महरु प्राप्त भएका छन्। विजेता हुने फिल्मले ५०० युरोको नगद पुरस्कार पाउनुका साथै महोत्सवमा समेत प्रदर्शन गराइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell