वीरगंज : नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले नेकपा (एकीकृत समाजावदी) पार्टीका अध्यक्ष माधव नेपाल नियतमा खोट भएको नेता भएको आरोप लगाएका छन्। पूर्व परराष्ट्रमन्त्री तथा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका नेता ज्ञवालीले वीरगंजमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।
‘माधव नेपाल नियतमा खोट भएकै कारण काठमाडौं र रौतहट गरी दुई वटा निर्वाचन क्षेत्रबाट पछिल्लो प्रतिनिधिसभा चुनावमा हार बेहोरेका थिए’, उनले भने, ‘अहिले त्यही नेता नेकपा एमालेलाई गाली गर्दै हिँडेका छन्, आफूलाई इमान्दार नेताको बिल्ला लगाउन खोजिरहेका छन्।’
उनले माधव नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई धोकेवाज नेताको संज्ञा दिँदै भने,‘उनीहरु आफैं नेकपालाई हराउने नेता हुन्, पार्टी टुक्र्याउने नेता हुन्, नेकपाको बहुमतको सरकारलाई ढाल्ने खेलमा लाग्ने नेताहरु हुन्।’
नेता ज्ञवालीले अवसरवादीहरुको गठबन्धनको सरकारले देश उल्टो दिशातर्फ गएको चर्चा गरे।
उनले भने,‘सरकारमा सहभागी दलको गठबन्धनको नेताहरुको स्वार्थ तथा उद्देश्यहरु अलग अलग रहेकोले सरकार लामो समय सम्म टिक्ने अवस्था कमजोर हुँदै गएको छ, दुई महिना पुग्न लाग्दा पनि सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नस्कनु सरकारको असफलताको पाटो हो।’
सरकारमा जाने गठबन्धन लोकतन्त्र विपरित पद्धतीबाट परमादेशको सहारामा सरकारको नेतृत्व पाएको कुरा दु:खद भएको चर्चा गर्दै उनले नेपालको राजनीतिमा पछिल्लो पटक विदेशी शक्तिको चलखेल पनि बढेको अभिव्यक्ति दिए।
नेकपा फोडेर जाने नेताहरुप्रति कटाक्ष गर्दै नेता ज्ञवालीले पार्टी फुटेर कमजोर हुनुको सट्टा झन मजबुत भएको दावी गरे। एमालेको ७२ वर्षे इतिहासमा धेरै पटक पार्टी फुटेको र जुटेको वृतान्त सुनाउँदै उनले आगामी दिनमा पनि नेता कार्यकर्ताहरुले उदास हुनु नपर्ने आग्रह गरे।
‘नेकपा एमाले सच्चा कार्यकर्ताको जगमा चल्ने पार्टी हो, अहिले पार्टीलाई बदनाम र गुमराहमा पार्ने नेता कार्यकर्ता चाहिएको छैन’, उनले भने, ‘पार्टी टुक्रिएर झन विशुद्ध एमालेवादीको पार्टी बनेको छ।’
ओली सरकारको काम जनताको मन र हृदयमा ताजै रहेको चर्चा गर्दै उनले आगामी निर्वाचनमा जनमतबाट ओली सरकार नै मुख्य पार्टीको रुपमा अगाडि सर्ने परिकल्पना गरे। ओली नेतृत्वको सरकारले हुलाकी राजमार्ग, फास्टट्रयाक, जेष्ठ नागरिकको भत्तामा वृद्धि, अन्तर्राष्ट्रिय विमानस्थल, अधुरा ठुलो परियोजनाको काम अगाडि बढाउने जस्ता, रेल र जहाजको काम पनि अघि बढाएकोले अन्य दल सशंकित भएर घेर बन्दी गरी ओली सरकारको विकल्प खोजेको उनले बताए।
उनले एमसीसी र संसद विघटनको विषयमा केही अभिव्यक्ति दिएनन्। एमाले वर्तमान सरकारको पुच्छर नबेनर इमान्दारीसँग प्रतिपक्षको भूमिकामा रहेर काम गर्ने उनले बताए।