श्रीलंकाको संसदले राष्ट्रपति गोताबाया राजपाक्षेले घोषणा गरेको आपतकाल अनुमोदन गरेको छ। अगस्त ३० मा राजपाक्षेले घोषणा गरेको आपतकाललाई संसदले अहिले पारित गरेको हो।
श्रीलंकाको कानुन अनुसार आपतकाल घोषणा भएको १४ दिन भित्र त्यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने हुन्छ। राजपाक्षेले घोषणा गरेको आपतकालको पक्षमा १३२ मत पर्दा विपक्षमा ५१ मत परेको थियो।
खाद्यान्नको मूल्य नियन्त्रण गर्न र अन्य वस्तुको कृत्रिम अभाव रोक्न आपतकाल घोषणा गरिएको राजपाक्षेले बताएका छन्।
विपक्षीहरुले भने आपतकाल घोषणा गर्न अहिले आवश्यक नरहेको बताउँदै आएका थिए। अन्य कानुनबाट मूल्यवृद्धि रोक्न र कृत्रिम अभाव सिर्जना हुनबाट रोक्न सकिने उनीहरुको दाबी थियो। तर, राष्ट्रपति राजपाक्षेले भने आपतकाल नै लगाउने पक्षमा उभिएका हुन्।
आपतकाल प्रस्ताव स्वीकृत भएसँगै अब प्रहरीले बिना कुनै वारेन्ट कुनैपनि व्यक्तिलाई पक्राउ गर्न सक्छन्। साथै, सम्पत्ति अधिग्रहण गर्न, कुनै पनि क्षेत्रमा खोजतलास गर्न, कानुनहरु रद्द गर्न र अदालतमा प्रश्न नउठ्ने गरी कानुन लागू गर्न अधिकार सरकारले आपतकाल संसदबाट पारित भएसँगै पाएको छ।