बुझाउनेले कुरा गतिलोगरी बुझाएनन्। बुझ्नेले पनि बुझेछन्, आफू अनुकूल। हिजो जिन्दावादका नारा लगाउनेहरु आज त्यसैलाई भन्दैछन् मुर्दावाद।
नेताहरु यति धेरै पिपलपाते भइसके कि कहिले एमसीसी नै देख्छन् त कहिले खाली सीसी। तिनैबाट प्रशिक्षित छन् - कार्यकर्ता। सहीलाई गलत र गलतलाई सही भन्दा 'जसोजसो बाहुनबाजे उसैउसै स्वाह' भने झै भेडाकै शैलीमा होमिन्छन्। अनि लगाउँछन् नारा - जिन्दावाद र मुर्दावाद।
अब कार्यकर्ता यतिसम्मका मुर्ख पाएपछि नेताको दादागिरी चल्न के कठिन? त्यसैले सत्तामा हुँदा र विपक्षमा हुँदा बोली पूरै उलटपुलट। थपडी र खैजडी बजाउनेहरु दुवैतिर उस्तै। त्यसमाथि गजबको 'राष्ट्रवाद' सुत्र छँदैछ। बुझेका नेताले एमसीसीलाई सडकमा राखेको मादल नै बनाइसके - जसलाई जताबाट मन लाग्छ बजाइदिने, ताल मिलोस् नमिलोस्।
अनि जनता रनभुल्लमा नपर्ने कुरा हुन्छ त?