PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

देउवापुत्र जयवीरले क्रियाशील सदस्यता पाउँदा डडेल्धुराका ५०० भन्दा बढी पुराना नेताकार्यकर्ताको नाम काटियो



देउवापुत्र जयवीरले क्रियाशील सदस्यता पाउँदा डडेल्धुराका ५०० भन्दा बढी पुराना नेताकार्यकर्ताको नाम काटियो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस क्रियाशिल विवाद चुलिएको छ। कांग्रेस केन्द्रले आइतवार डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो।

जसमा देउवा पुत्र जयवीरसिंहको नाम क्रियाशील सूचीमा राखिएको छ। तर उनलाई क्रियाशील सूचीमा समावेश गराउँदा ५०० भन्दा बढी पुराना कार्याकर्ता आउट गरिएको जिल्ला सभापति कर्ण मल्लले दाबी गरे। 'क्रियाशील सदस्यता सूचीमा धेरै धाँधली गरिएको छ। ५०० भन्दा बढी कार्यकर्ताका नाम काटिएका छन्। ३०० भन्दा बढी केन्द्रबाट थपेका छन्,' मल्लले पहिलोपोस्टसँग भने। विवाद कायमै रहेकोले यो समस्या नसुल्झेसम्म वडा अधिवेशन हुनै नसक्ने सभापति मल्लले बताए।

सुदूरपश्चिम प्रदेश सभा सदस्य मल्लकी आमा पार्वतीदेवी मल्लको नामसमेत क्रियाशील सूचीमा काटिएको छ। त्यसैगरी पूर्व जिल्ला सभापति तथा पूर्व परशुराम नगर सभापति तारी सिंह बोहरा, त्रिभुवन विश्व विद्यालयका पूर्व स्ववियू सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्ट लगायतका नाम सिफारिस गरे पनि केन्द्रबाट काटिएका छन्। क्रियाशीलबाट आफ्नो नाम काटेपछि अमरगढी ९ का वडा सभापति पालले कपाल मुण्डन गरी किरिया बसेका छन्।

यता निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले भने एक विज्ञप्ती निकालेर अधिवेशन केन्द्रीय निर्वाचन समितिको तालिकाअनुसार नै हुने बताएका छन्। बमले केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसार भदौ २५ गते गाउँ/ नगर वडा अधिवेशन हुने बताएका हुन्।

निर्वाचन अधिकृतले अधिवेशन तोकिएकै समयमा हुने अडान गरेपछि मल्लले यसलाई तानाशाही प्रवृत्ति भएको आरोप लगाएका छन्। 'क्रियाशिल नपाएका कारण किरिया बसेको हामीले देखेकै हौ। अहिले निर्वाचन अधिकृत गुट भेला गराएर हिडिँरहेका छन्,' मल्लले भने। पार्टीमा काम गरेकाहरुको नाम काटेर आफ्नो निकटको नाम राखिनु तानाशाही शैली भएको मल्लको आरोप छ। 'यो अत्यन्तै तानाशाही शैली भयो। क्रियाशिल अन्योलता नहटेसम्म अधिवेशन हुनै सक्दैन,' मल्लले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell