बलिउड अभिनेत्री कंगना रनौत अभिनित फिल्म ‘थलाइवी’ १० सेप्टेम्बरबाट सिनेमा हलमा रिलिज हुनेछ। सिनेमा हलका साथै यो फिल्म ओटीटी प्लेटफर्ममा समेत रिलिज हुने पक्का भएको छ।
यो फिल्मलाई नेटफ्लिक्स र अमेजन प्राइमले किनेका छन्। ओटीटीलाई ५५ करोड भारुमा फिल्मको राइट्स बिक्री गरिएको हो। यो फिल्म दुवै ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुनेछ।
नेटफ्लिक्समा हिन्दी भाषामा र अमेजन प्राइममा तमिल, तेलुगू, कन्नड र मलयालम भाषाहरूमा रिलिज हुनेछ। तर, हलमा रिलिज भएको २ सातापछि मात्रै ओटीटीमा रिलिज हुनेछ।
महाराष्ट्र सरकारले अझै पनि हल खोल्न अनुमति दिएको छैन। जसकारण यो फिल्म भारतको महाराष्ट्रमा भने रिलिज हुने छैन।
भारतको तमिलनाडूकी मुख्यमन्त्री रहिसकेकी जयललिताको बायोपिकमा आधारित फिल्ममा कंगनाले जयललिताको भूमिका निभाएकी छिन्।
एएल विजयले निर्देशन गरेको फिल्ममा कंगनासँगै अरविन्द स्वामी, प्रकाश राज, जीसु सेनगुप्ता र भाग्यश्रीको अभिनय छ।
केही दिन अगाडि मात्र कंगनाले चलचित्र रिलिजको बिषयमा सिनेमा हल संचालकहरुसँग आक्रोश व्यक्त गरेकी थिइन्। भारतका विभिन्न भाषामा रिलिज हुन लागेको यो चलचित्रको हलको विवाद टुंगिएको छ। योसँगै चलचित्र अब ओटीटी प्लेटफर्ममा पनि रिलिज हुने भएको हो।