PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कवि अनिल श्रेष्ठको छैटौँ कविता सङ्ग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक



कवि अनिल श्रेष्ठको छैटौँ कविता सङ्ग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक

आबुखैरेनी : कवि अनिल श्रेष्ठको छैटौँ कविता सङ्ग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक भएको छ। बिहीवार आबुखैरेनीमा आयोजित एक कार्यक्रममा कविता सङ्ग्रह सार्वजनिक गरिएको हो।

आबुखैरेनी स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि प्रमोद प्रधान, विशेष अतिथिहरू गाउँपालिका अध्यक्ष गिरबहादुर थापा र साहित्यकार विजयराज आचार्यलगायतले कृति सार्वजनिक गरेका हुन्। सङ्ग्रहमा ३५ कविता छन्।

कार्यक्रममा प्रमुख अतिथि प्रमोद प्रधानले नेपाली कविताका क्षेत्रका क्रान्ति चेतनालाई कलात्मक सौन्दर्यका साथ प्रस्तुत गर्ने कविको रूपमा अनिल श्रेष्ठको योगदान महत्वपूर्ण रहेको बताए। विशेष अतिथि आबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गाउँपालिकामा संस्थाबाट भइरहेका साहित्यिक सक्रियताको प्रशंसा गर्दै छिम्कालेकमा एक साहित्यिक कार्यक्रम गर्ने घोषणा गरे।

सो अवसरमा समालोचक तेजविलास अधिकारीले अनिल श्रेष्ठका कविताहरू आकारमा छोटा भए पनि त्यसले दिने विचार गम्भीर र अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनका कविताबारे जति पनि व्याख्या र विश्लेषण गर्न सकिने अधिकारीको भनाइ थियो।

अर्का समीक्षक भीम रानाभाटले पनि अनिल श्रेष्ठका कविता विषय, भाव, शैली र कलाका दृष्टिकोणबाट अब्बल भएको धारणा राखे।

संस्थाका अध्यक्ष एवं कृतिकार कवि अनिल श्रेष्ठले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै आफ्नो एक कविता वाचन गरेका थिए। पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रालिले प्रकाशन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell