PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

जनता आवास कार्यक्रमको भुक्तानी नपाउँदा उपभोक्ता समिति आन्दोलित, शहरी विकास कार्यालयमा तालाबन्दीको चेतावनी



जनता आवास कार्यक्रमको भुक्तानी नपाउँदा उपभोक्ता समिति आन्दोलित, शहरी विकास कार्यालयमा तालाबन्दीको चेतावनी

वीरगंज : प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगंजद्वारा सञ्चालित जनता आवास कार्यक्रम अन्तर्गत उपभोक्ता समितिहरूको भुक्तानी नहुँदा उनीहरु आन्दोलित भएका छन्। रौतहतका उपभोक्ता समितिहरुले पर्सा, बारा, रौतहट जिल्ला हेर्ने शहरी विकासको कार्यालय वीरगंज पुगेर दबाब सिर्जना गरेका छन्।

साथै, उनीहरुले स्थानीय प्रशासनमार्फत भुक्तानीको लागि माग गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र समेत बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेमार्फत मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाइएको रौतहट गढीमाई नगरपालिका-४ सुन्दरपुरका वडा सदस्य महेशकुमार साहले बताए।

उनका अनुसार मुख्यमन्त्रीले उपभोक्ता समितिहरूको बक्यौता सोमवारसम्म भुक्तानी गराउन पहल गर्नु पर्ने माग गरिएको छ। सोमवारसम्म भुक्तानीको अख्तियारी नआए मंगलवारदेखि शहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगंजमा तालाबन्दी गरी धर्नामा बस्ने पनि ज्ञापन पत्रमा अल्टिमेटम दिइएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा रौतहट जिल्लामा मात्रै ३ लाख ३६ हजारमा बन्ने जस्तापाताको छानासहित दुई कोठे भवनको लागि ११ सय ५० वटा घर निर्माणको योजना रौतहटमा छनौट भएको थियो। जसमध्ये धेरै योजनाहरू सम्पन्न भइसकेको र केही अधुरो रहेको जनाइएको छ।

तर, कार्यालयले सही समयमा उपभोक्ता समितिलाई भुक्तानी नगर्दा र बजेट नपठाउँदा जनता आवासका लाभग्राहीहरूसँगै उपभोक्ता समिति पनि मर्कामा परेका छन्। रौतहटमा मात्रै करिब ३५ करोड उपभोक्ता समितिको भुक्तानी दिन बाँकी छ।

पर्सामा करिब ७ सय घर र बारामा करिब ९ सय निर्माण गर्ने योजना भएतापनि पर्सा-बाराका लगभग ९० प्रतिशत भुक्तानी भइसकेको र सबैभन्दा बढी बक्यौता रौतहटमै रहेकोले बजेट पठाउन र हिसाब फर्छ्योट गर्न उपभोक्ता समितिको माग छ।

यस विषयमा कार्यालय प्रमुख राजेन्द्र साहले चालु आवको लागि १३ करोड बजेट आइसकेको तर अख्तियारी नआएकोले उपभोक्ता समितिलाई पैसा नपठाइएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell