PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

साढे दुई महिनापछि सञ्चालनमा आयो चीन जोड्ने तातोपानी पुग्ने सडक



साढे दुई महिनापछि सञ्चालनमा आयो चीन जोड्ने तातोपानी पुग्ने सडक

काठमाडौं : उत्तरी नाका तातोपानी पुग्ने सडक साढे दुई महिनापछि सञ्चालनमा आएको छ। असार १ गतेपछि बन्द रहेको सडक बिहीवार साँझबाट सञ्चालनमा आएको हो।

लिपिङ बजारमा रहेको पुलसम्म पुग्ने एप्रोच लिंक मर्मत सकिएर बेलुकीसम्म सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर गोविन्द दुमारुले बताए। उनका अनुसार बुधवार नै सञ्चालनमा ल्याउने योजना थियो तर कामै नसकिएपछि बिहिवारबाट सञ्चालनमा आएको हो।

असार १ गते भोटेकोसीमा आएको बाढीले कोदारी राजमार्गअन्तर्गतको सडकखण्ड र पुलमा क्षति पुगेको थियो। चीन नेपाल जोड्ने मितेरी पुलबाट करिव एक किलोमिटर नेपालतिर पर्ने ओडारे भन्ने ठाउँमा करिव ५० मिटर सडक पुरै बगाएको थियो। यो मर्मत भइसकेको छ। माथितिर गाउँ रहेका कारण खन्न नमिल्ने र तलतिर खोला रहेका कारण मर्मत गर्न समय लागेको थियो।

एक पटक मर्मत गरेपछि पुन: बाढीले बगाएको थियो। दोस्रो पटक मर्मत गरेर सञ्चालनमा ल्याइएको छ।

‘माथितिर खन्न मिल्दैन। तलतिर घरीघरी बगाउँछ। जोखिम त अझै छ’, उनले भने, ‘बनाउन थालेपछि पटक-पटक बगाएर धेरै दु:ख दियो।’

बाढीले लिपिङ बजारमा रहेको मोटरेबल पुलमा पनि क्षति पुर्‍याएको थियो। करिव २० मिटर एप्रोच लिंक बगाउदा ओडारेमा सडक बनेपनि सञ्चालनमा आउन सकेको थिएन। जोखिमपूर्ण भुगोल रहेका कारण मर्मतमा ढिलाइ भएको सडक विभागका इन्जिनियरहरुको भनाइ छ। यहि एप्रोच लिंक मर्मतका लागि साढे तीन महिना लागेको हो।

खोला नजिकै ढलान गरेर त्यसमाथि करिव २० मिटर जाली उठाएर एप्रोच लिंक तयार पारिएको छ। कामदारहरु डोरी बाँधेर जोखिम मोल्दै खोला छेउमा गएर ढलान गरेका थिए।

‘हामीले स्थायी नै हुने गरी एप्रोच सडक बनाएका छौँ। तर, बाढीले पुलको फाउण्डेसनमा पनि क्षति पुर्‍याएको छ’, दुमारुले भने, ‘मंसिर लागेपछि पानीको बहाब कम हुन्छ। अनि मात्रै फाउण्डेसन हेर्न सकिन्छ। त्यसपछि के गर्ने भन्ने निर्णय होला।’

सडक मर्मतका लागि करिव एक करोड खर्च भएको डिभिजनल सडक कार्यालय चरिकोटले जनाएको छ। राजमार्गका विभिन्न खण्डको मर्मत समेत भएको छ।

चिनियाँहरुले साइटमा क्याम्प राखेर मर्मतको काम गरिरहेका थिए। तर, बाढीले राजमार्गका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि उनीहरु मर्मतको काम नै रोकेर बसेका थिए। सडक विभागले शुरुमा चिनियाँ पक्षलाइ मर्मत गरिदिन आग्रह गरेको थियो। चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएपनि काम शुरु गरेनन्।

व्यवसायीहरुले स्वास्थ्य सामग्रीहरु तुइन बनाएर, क्रेनबाट ल्याउन थालेपछि विभागले बाध्य भएर मर्मत थालेको थियो। सडक नभएका कारण व्यवसायीहरुका करोडौँका सामानहरु अड्किएका थिए। तातोपानी चीनसँग जोडिएको पहिलो र सबैभन्दा ठूलो व्यावसायिक नाका पनि हो। नाका बन्द रहेका कारण दशैँ नजिकिएपनि सामानहरु ल्याउन पाएका छैनन्।

त्यही कारण धेरै व्यवसायीले पानीजहाजमार्फत भारतीय भुमी हुँदै चिनियाँ सामान ल्याएका छन्। यो बाटो बनेपछि व्यवसायीले तिहारका लागि यहीँबाट सामान ल्याउन सक्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell