PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

विवादकै बीच डडेल्धुरामा शुरु भयो वडा अधिवेशन : देउवाले सत्ताको दुरुपयोग गरेको जिल्ला सभापति मल्लको आरोप



विवादकै बीच डडेल्धुरामा शुरु भयो वडा अधिवेशन : देउवाले सत्ताको दुरुपयोग गरेको जिल्ला सभापति मल्लको आरोप

काठमाडौं : डडेल्धुरामा नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएको छ। विवादकाबीच वडा अधिवेशन सुरु भएको हो।

'बिहान ९ बजेबाटै जिल्लाका ५२ वटै वडामा अधिवेशनको प्रक्रिया शुरु भइसक्यो,' जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले पहिलोपोस्टसँग भने। केहीमा उद्घाटन हुँदै गरेको र केहीमा मतदाता नामावली प्रकाशन शुरु भएको बमले बताए।

नेपाली काँग्रेस डडेलधुराका सभापतिले भने आजको अधिवेशन स्थगित गरिएको बताएका थिए। कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाका जिल्लासमेत रहेको यो जिल्लामा क्रियाशील सदस्यता विवाद चर्किएपछि अधिवेशन हुने कि नहुनेबारे अन्योलता छाएको थियो।

जिल्ला सभापति मल्लले हिजोमात्र एक भिडियो सन्देश जारी गर्दै अधिवेशन स्थगित भएको बताएका छन्। देउवाले प्रहरी परिचालन गरी एकलौटी रुपमा केन्द्रबाट आफ्नो मान्छे खटाएर अधिवेशन गराएको आरोपसमेत लगाएका छन्। 'विमतिलाई सम्बोधन नगरी एकपक्षीय ढंगले राज्यको स्रोत साधन शक्ति सम्पत्ति प्रयोग गरी कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीको वडा तहदेखि जिल्ला नेतृत्वसम्म हत्याउने जुन दुष्प्रयास भइरहेको छ। जति खेद प्रकट गरे पनि कमै हुन्छ,' सभापति मल्लले भनेका छन्।

डडेल्धुराको वडा अधिवेशन सम्पन्न गराउन देउवाले नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई खटाएका छन्।

जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले जिल्ला सभापति मल्लकी आमासमेत गरी ४ सय ४४ जनाको नाम हटाइदिएको छ। तर, आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवादको अवस्था बनेको जिल्ला सभापति मल्लले बताएका छन्।

केन्द्रीय नेतृत्वले पेलेर गर्ने यस्तो निर्वाचनले तीव्र ध्रुवीकरण हुने मल्लको दाबी छ। यसले स्थानीय चुनावमा परिणाम देखिनेसमेत उनले बताए। 'एकतर्फी ढंगले आउने परिणाम कस्तो आउला?' मल्लको प्रश्न थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell