काठमाडौं : नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´सँग भेट गरेको छ। शुक्रवार बिहान प्रचण्ड निवास खुमलटार पुगेर सुमार नेतृत्वको टोलीले प्रचण्डसँग भेट गरेका हुन्।
भेटमा अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने वचन दिएको उनको सचिवालयले जनाएको छ। प्रचण्डले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताए। 'भेटमा अध्यक्षले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताउनुभयो। उहाँले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताउनुभयो,' भेटबारे प्रचण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबावका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताइन्। यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउँदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको सुमारको धारणा थियो। सुमारको टोली बिहीवार नेपाल आइपुगेको हो। टोलीले हिजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका थिए। एमसीसीको यो टोलीले आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम तय भएको छ।