काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर ५ मा आज वडा अधिवेशन सकिएको छ। योसँगै एउटा बाहेक सबै वडामा अधिवेशन सकिएको नेता भीमबहादुर साउदले जानकारी दिए।
बाँकी रहेको एउटा वडामा शनिवार अधिवेशन गर्ने गृहकार्य भइरहेको डडेल्धुरा कांग्रेसको सभापतिका प्रत्यासी समेत रहेका साउदले बताए। अधिवेशनमा उत्साहपूर्ण सहभागिता रहेको उनको भनाइ छ। साँझ ८ बजेसम्ममा सबै वडाको रिपोर्ट आउने उनले बताए।
त्यस्तै, उनले जिल्ला सभापतिले पराजयको मानसिकता लिएर अधिवेशनमा सहभागिता नजनाएको समेत आरोप लगाए।
उनले भने, ‘जिल्ला सभापतिले पराजयको मानसिकता लिएर सहभागिता जनाउनुभएन। सबै वडामा घुमेर जित्ने माहोल नदेखेपछि अधिवेशनबाट भाग्नुभयो। सकेसम्म सहमति गरेरै जाउँ भन्ने थियो तर उहाँहरुले मान्नुभएन।’
अधिवेशनमा ८० देखि ९० प्रतिशत नेताहरु सहभागी भएको उनले जानकारी दिए।
‘पार्टीको केन्द्रीय सभापतिमा फेरि शेरबहादुर देउवालाई जिताउने योजनासहित हामी लागेका छौँ। डडेल्धुरामा बाहिर भनिएजस्तो विवाद छैन,’ उनले भने।
साउद देउवा पक्षका नेता मानिन्छन्।
यता, जिल्ला सभापति कर्ण मल्लले भने धाँधली भएको भन्दै वडा अधिवेशन बहिस्कार गरेका छन्। सशस्त्र प्रहरी खटाएर सत्ताको शक्ति दुरुपयोग गर्दै सभापति देउवाले अधिवेशन गराएको मल्लको आरोप छ।
मल्ल पक्षले देउवाको गृह वडामा अधिवेशन स्थगित भएको दाबी गरेको छ। त्यसैगरी, पैसाले किनेर देउवा पक्षले वडा अधिवेशन गराएको मल्ल पक्षको आरोप छ।
‘देउवा पक्षले पैसा र शक्तिको भरमा एमाले माओवादी र राप्रपाबाट आएकालाई पार्टीको जिम्मेवारी दिएका छन्,’ नेविसंघकी नेतृ आशा जोशीले भनिन्।