PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भर्चुअल कविता वाचनमा वरिष्ठ कवि प्रमोद प्रधान : ‘विभाजित मान्छे’देखि ‘गिद्धको क्याटवाक’सम्म



भर्चुअल कविता वाचनमा वरिष्ठ कवि प्रमोद प्रधान : ‘विभाजित मान्छे’देखि ‘गिद्धको क्याटवाक’सम्म

काठमाडौं :
वरिपरि अनेकौँ पथहरुको निर्माण भइरहेछन् 
सायद झुक्याउनको लागि
तिमी कुन बाटो जान चाहन्छौ मलाई नसोध
मेरो मस्तिष्कमा पर्खाल उभिएर सोच्न छाडिसकेको छ
मेरो मुटुमा काँडा उभिएर जसलाई पायो त्यसलाई घोच्न लागिसकेको छ

विसं २०३४ सालमा रचेको ‘प्रश्नहरूको कहतारोमा एउटा बन्दी’ शीर्षकको कविता सुनाउँदै गर्दा वरिष्ठ कवि प्रमोद प्रधान उत्साहित देखिए। शुक्रवार साँझ भर्चुअल माध्यममा ८० भन्दा बढी दर्शक जोडिएपछि उत्साहित हुँदै प्रधानले आफ्नो पुरानो कवितालाई वाचन गरे।

साँझ साढे ६ बज्दै गर्दा पूर्वको दार्जिलिङदेखि पश्चिमको लमजुङसम्मका कवि तथा स्रष्टाहरु प्रधानका कविता सुन्न झुम्मिएका थिए। त्यसो त बेलायतबाट कृष्ण बजगाईदेखि नर्वेबाट प्राध्यापक रामकुमार पाँडेसमेत कार्यक्रममा जोडिएका थिए। प्रधानले कविताहरु थप्दै गए।

बेड नम्बर ३८ र एउटा घाइते बिरामी, विभाजित मान्छे, रातसँग प्रश्न, जीवन कविता जस्तो किन हुँदैन?, मैले प्रेम गरेकी केटी!, एकान्त गीत, कविता र जंगल, कुरूप अनुहार, चेपाङ बस्तीको आगो र कमरेडको मृत्युको घोषणा, (अ)न्यायको सडक नृत्यजस्ता कवितामार्फत समकालीन विषयहरुको उजागर गरे प्रधानले।

रंगमञ्चको पर्दा खोलिएको छ
र मञ्चन हुँदै छ नाटक गिद्धको क्याटवाक
दर्शकदीर्घ चुपचाप छन् र हेरिरहेको छ उत्सुकतापूर्व
हेरिरहेको छ एकोहोरो गिद्धको क्याटवाक

‘गिद्धको क्याट्वाक!’ शीर्षकको यो कविता प्रधानले वाचन गर्दै गर्दा धेरैले राम्रो प्रतिक्रिया दिएका थिए।

कविताबाटै साहित्यकार अनन्त वाग्लेले सञ्चालन शुरु गरेको कार्यक्रममा दर्जन कविता सुनाएपछि वरिष्ठ कविले ‘गिद्धको क्याटवाक’बाटै मैझारो गरे।

आबुखैरेनी स्रष्टा समाजले वरिष्ठ कवि तथा लेखक प्रधानको एकल कविता वाचन कार्यक्रमको आयोजना गरेको थियो। भर्चुअल माध्यम जुममार्फत भएको वाचन कार्यक्रममा प्रधानले यिनै दर्जन कविताले स्रोतालाई मन्त्रमुग्ध पारे।

प्रधानले विसं २०२९ सालमा कविता लेखेर साहित्य क्षेत्रमा डेब्यू गरेको स्मरण गर्दै साहित्यकार महेश प्रसाईले २०३२ मा रातभरिका सुस्केराहरु प्रधानको पहिलो कविता संग्रह प्रकाशित भएको जनाए। अहिले प्रधानका तीन दर्जन रचनाहरु प्रकाशित रहेको उनले बताए।

‘कविता, समालोचना, बाल साहित्यमा प्रखर हुनुहुन्छ। विभिन्न पुरस्कारहरु पाउनुभएको थियो। तीन दर्जन पुरस्कार पाउनुभएको छ। बाल साहित्यको क्षेत्रलाई समृद्ध बनाउन उहाँले धेरैसँग होस्टेमा हैसे गर्नुभएको छ। पत्रकारितामा पनि उहाँ सक्रिय हुनुहुन्छ’, प्रसाईले भने, ‘उहाँ नेपालको गौरव हुनुहुन्छ। उहाँका कामहरु गुणात्मक छन्। निबन्धको इतिहास पनि उहाँले पुरा गर्नुभयो। मोरङ जिल्लालाई र राष्ट्रिय स्तरमा समृद्ध बनाउने काम गर्नुभएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell