
काठमाडौं : नेपाली महिला फुटबल टोली र बंगलादेशबीच आज जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्।
खेलको शुरुमा बंगलादेशले दबाब बनाएको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई बिट गरिसकेको अवस्थामा पनि बंगलादेशी खेलाडीले मौकाको सदुपयोग गर्न सकेनन्।
१९ औँ मिनेटमा अमृता जैसीले उत्कृष्ट प्रहार गरे पनि बंगलादेशी गोलकिपर रुपना चक्माले उत्कृष्ट बचाउ गरिन्। २० औँ मिनेटमा सरु लिम्बुले पोस्ट नजिकैबाट गरेको प्रहार बाहिरिएको थियो। त्यस्तै, श्रीमोती सरकारले ३१ औँ मिनेटमा गरेको कडा प्रहार पोस्टमा ठोकिएर बाहिरिएको थियो।
यसअघि पहिलो खेलमा बंगलादेशी टोलीलाई नेपालले २-१ गोलअन्तरले हराएको थियो। नेपाल बंगलादेशसँग हालसम्म अपराजित छ।
नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो। दुवै टोली एएफसी वुमन एसियन कप क्वालिफिकेसनको तयारीमा छन्।