PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’को टिजर सार्वजनिक



बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’को टिजर सार्वजनिक

काठमाडौं : बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको हो।

नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि फिल्म नबनेको र ‘टुल्की’ नै पहिलो फिल्म भएको निर्माता शेखर लामाले दाबी गरे। यस फिल्मको लागि झन्डै चार वर्ष अनुसन्धान नै गरेको समेत उनले बताए।

फिल्ममा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त कथालाई लक्ष्मण सुनारले लेखेका हुन्।

डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई ‘टुल्की’मार्फत देखाइएको निर्माता शेखर लामाले बताए।

‘बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन, जुन भाइले पहिला विवाह गरे तीनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ,’ लामाले सुनाए।

द पाल्म ग्रुप प्रालीद्वारा निर्माण गरिएको फिल्ममा आरपी कर्माचार्य र शेखर लामाको लगानी रहेको छ। फिल्ममा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्ममा छायांकन र निर्देशन देवजंग थापाले गरेका हुन् भने फिल्ममा तारा थापा किम्भेको सम्पादन रहेको छ।

डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर फिल्मको छायांकन गरिएको हो। फिल्ममा बहुपति प्रथाका  साथै सुदुरपश्चिममा कुप्रथाको रूपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाइ छ।

फिल्मलाई विभिन्न फेस्टिभलमा सहभागी गराए पश्चात मात्र फिल्म हलमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell