PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

धनुषा जिल्ला प्रहरी कार्यालय बाहिर तुल्सियाही गाउँका स्थानीयद्वारा विरोध प्रदर्शन



सुमित मिश्र

धनुषा जिल्ला प्रहरी कार्यालय बाहिर तुल्सियाही गाउँका स्थानीयद्वारा विरोध प्रदर्शन

जनकपुरधाम : तुल्सियाही गाउँका स्थानीयले धनुषाको जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन्। प्रहरीले पीडकलाई उन्मुक्ति दिएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय घेराउ गरेको तुल्सियाही गाउँका स्थानीय पोषण राइनले बताए।

जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सियाहीमा मुस्लिम समुदायबीच नमाज पढाउने विषयमा भएको विवादमा प्रहरीले पीडकसँग घुस खाएर मुद्दा दर्ता गरेको र आफूहरुको निवेदन भने दर्ता नगरेको स्थानीयको आरोप छ।

बिहीवार तुल्सियाही गाउँबाट पीडित पक्षसँग आएका करिब एक सय स्थानीयले प्रहरी उपरिक्षक प्रकाश रानाभाटले घुस खाएको आरोप लगाउँदै नाराबाजी गरेका थिए। उनीहरुले करिब एक डेढ घण्टासम्म जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए।

राईनका छोरा मुमताज राईनले भने ‘आफ्नो समुदाय भित्र भएको झगडामा प्रहरीले घुस खाएर पीडकको मुद्दा दर्ता गरी उल्टै आफू पिडीतहरुलाई नै फसाउन खोजी रहेको छ। हामी यहाँ न्याय माग्न आएका हौँ। यो कहाँको कानुन हो पीडकसँग पैसा लिएर पीडितलाइ नै फसाउने ?’

करिब तीन साताअघि गाउँको मस्जिदमा मौलाना नभएको बेला मुमताजका बुवा पोषण राईन नमाज पढाउन गएको बेला स्थानीय २२ वर्षीय मुमताज अंसारीले नमाज पढाउन पाउँदैन भनी गाली गलौज गरेको स्थानीय बताउँछन्। सो घटनालाई लिएर दुवै पक्षबिच विवादको क्रममा भएको कुटपिटमा राईन पक्षका तीन जना र अंसारी पक्षका एकजना घाइते समेत भएको थिए।  

घटना बारे बुझ्न खोज्दा प्रहरी उपरीक्षक रानाभाटले यस विषयमा छलफल भइरहेको बताए। उनले आफू विरुद्ध लगाइएको आरोपबारे केही बताउन चाहेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell