PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौंमा भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाउने, यस्तो छ प्रशासनको आदेश



काठमाडौंमा भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाउने, यस्तो छ प्रशासनको आदेश

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने आदेश जारी गरेको छ। कार्यालयले एक विज्ञप्तिमार्फत असोज १ गतेदेखि लागू हुने गरी विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने आदेश जारी गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक संस्थाहरु (विद्यालय)ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने। गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालन गर्नु पूर्व आ-आफ्नो पालिकास्तरमा कोभिड-१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह-चालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरु सबैले अनिवार्य रुपमा कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्ने, अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने।’

त्यस्तै, प्रशासनले कोभिड-१९ को संक्रमण कायमै रहेकोले अनावश्यक रुपमा घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न/नगराउन भनेको छ। यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रुपमा मात्र मनाउन पाइने बताइएको छ।

‘स्थानीय दुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने। सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने,’ प्रशासनको आदेश छ।

प्रशासनले कोभिड-१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा परेका व्यक्तिहरुले नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पीसीआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन, भिडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्न गराउन आग्रह समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell