PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भाष्करका चार कृति एकै साथ सार्वजनिक



भाष्करका चार कृति एकै साथ सार्वजनिक

काठमाडौं : प्रगतिवादी साहित्यमा लामो समयदेखि कलम चलाउँदै आएका साहित्याकार प्राध्यापक डा भवानीप्रसाद पाण्डे(भाष्कर)का चार कृति एकसाथ सार्वजनिक भएको छ। शुक्रवार साँझ भर्चुअल रुपमा जुममा आयोजित कार्यक्रममा भाष्करका चार कृति सार्वजनिक भएको हो।

लेखक आफै र समीक्षकहरुले उनको कृतिको अनावरण गरेका थिए। यसरी सार्वजनिक भएका कृतिहरुमा पर्यालोचन, आयुष्मान, जीवनयात्रा र मगर अंकल रहेका छन्। पर्यालोचन समीक्षा र लेखहरुको संग्रह, आयुष्मान बुद्धकथा, जीवनयात्रा लघुकथा हो भने मगर अंकल कथा भए पनि अंग्रेजी भाषाको कृति हो।

कृतिहरुमाथि विभिन्न साहित्यकार र लेखकहरुले समीक्षा गरेका थिए। बुद्ध कथा आयुष्मानमाथि बौद्ध धर्मसम्बन्धी अध्येता वसन्त महर्जनले टिप्पणी गर्दै इतिहासका विषयलाई आख्यानमा ढाल्दा हुने गल्तीबारे लेखकलाई सचेत गराए। 'इतिहासलाई आख्यानमा ढाल्न पाइन्छ कि पाइँदैन, पात्र र समयको नाम कसरी चलाउने,' बुद्ध कथामा भएका विषयलाई महर्जनले प्रश्न गरे, 'म इतिहासको विद्यार्थी भएकोले पचाउन अलि गाह्रो भयो।'  महर्जनले आयुष्मानका ४८ वटा आख्यानमा बुद्ध धर्मसम्बन्धी धेरै कुरा समेटिएको उल्लेख गरे। तर केही पात्रहरुको नाम फरक पर्न गएकोबारे लेखकसँग असन्तुष्ट पोखेका थिए। लेखक भाष्करले आख्यानमा ढाल्दा नामहरु परिवर्तन भएको जनाए।

अंग्रेजीमा प्रकाशित मगर अंकलमाथि साहित्यकार श्रीधर पौडेलले समीक्षा गरे। मगर अंगलमा धेरैजसो ज्ञानका कुरा रहेको उनको भनाई थियो। 'यहाँ भाग्यवादी समाजको विरोध गरिएको छ, पूँजीवादीहरुको बोलवालाबारे प्रकाश पार्नुभएको छ,' पौडेलले भने, 'सरल भाषामा अनुवाद गरिएको छ। अनुवादकलाई धन्यवाद।' उनले यी किताब नेपाली स्कुलका पाठ्यक्रममा तत्काल राख्नका लागि लायक भएकोसमेत बताए। भाष्करको यो कृति स्वर्णिम लम्सालले अंग्रेजीमा अनुवाद गरेका हुन्।

यसैगरी लघुकथा संग्रह जीवनयात्रामाथि लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले टिप्पणी गरे। भाष्करको लेखनमा लघुकथाको किताब पाठकले पाउनु नै सुखद् भएको उल्लेख गर्दै श्रेष्ठले जीवनयात्रामा समसमायिक विषयहरु रहेको बताए। 'लघुकथाहरु समसमायिक छन्। व्याङ्ग्यले भरिएका छन्। बीच र अन्तिम वाक्यले झट्का दिन्छ,' श्रेष्ठले भने। किताबमा भएका १०४ वटा लघुकथाहरुको समापन खुला राखिएकोमासमेत उनले खुसी व्यक्त गरे।

पर्यालोचन किताबमाथि वरिष्ठ साहित्यकार प्रा डा रमेशप्रसाद भट्टराईले टिप्पणी गरे। समीक्षा र लेखहरुको संग्रहमा आलोचनात्मक चेत आफूले पाएको भट्टराईले बताए। किताबमा अमेरिकामा किन विभेद छ? जुम्लामा कसरी विपन्न बनाइयो भन्ने विषयमा स्पष्ट विषयहरु समावेश भएको उल्लेख गरे। त्यसैगरी उनले लेखकले शोधो आधिकारितामा भने केही कमजोरी गरेको भन्दै प्रश्न उठाए। 'शोधपरक बनाए त अलि राम्रो हुन्थ्यो कि, किनकि शोधको आधिकारिताप्रति शंका उठेका छन्,' भट्टराईले भने। किताब इतिहास र सूचनाले भरिएको उनको भनाई थियो।

लेखक भाष्करले समीक्षकहरुलाई धन्यवाद दिँदै आगामी दिनमा आफूले सुधार गर्दै लैजाने वचन दिए।

कार्यक्रम बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको थियो। केन्द्रका आजीवन सदस्यसमेत रहेका भाष्करका २८ कृति सार्वजनिक भइसकेको र ४ वटा कृति प्रकाशोन्मुख रहेका छन्। २००४ सालमा बाग्लुङको गल्कोटमा जन्मिएका पाण्डेले गल्कोटबाट शिक्षण पेशा थालेका थिए। विभिन्न कलेजहरुमा प्रध्यापन गरेका उनले २०७६ सालमा पृथ्यीनारायण क्याम्पस पोखराबाट अवकाशप्राप्त गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell