PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जनकपुरबासीको ‘अधुरो’ रेल सपना



सुमित मिश्र

जनकपुरबासीको ‘अधुरो’ रेल सपना
एक वर्षअघि रेल जनकपुर आउँदा हेर्न आउनेहरुको भिड।

जनकपुरधाम : जनकपुरदेखि मात्रै १८ किलोमिटर टाढा पूर्वतर्फ भारतको जयनगरमा ‘छुकछुक’ गरेर रेल दौडिन्छ। त्यो रेल दौडिरहँदा नेपालीका लागि भने आफ्नो मुलुकमा पनि रेलमा चढ्न पाउने भन्ने आशा सपनामै सीमित भएको छ।

पछिल्ला २ वर्षदेखि रेल चल्छ भन्ने कुरा सुनिँदै आएको छ। कहिले विवाहपञ्चमीमा चल्ने त कहिले दशैँमा चल्ने। कहिले अब चल्छ त कहिले केही दिनभित्रै सञ्चालन हुन्छ। यस्तै यावत् कुरा सुनेर नेपालीले सन्तोष गरिरहनुपरेको छ।

भारतको सहयोगमा जनकपुर-जयनगर रेलमार्ग निर्माण शुरु भएसँगै जनकपुरसहित पूर्वी धनुषाका नागरिकको अनुहारमा खुसी देखिएको थियो। त्यसपछि निर्माण कार्य सकेर गत वर्ष आजैको दिन रेल विभागले कुर्था-जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि किनेको रेल सेट परीक्षण गर्दा त खुसीको सीमा नै थिएन यहाँको सर्वसधारणमा।

गत वर्ष कोरोना महामारी र लकडाउनको बीच गरिएको रेलको परीक्षण हेर्न लकडाउन उल्लंघन गर्दै हजारौँको संख्यामा सर्वसाधारणहरु जनकपुरको रेल्वे स्टेशन पुगेका थिए। सोही भिडमा थिए स्थानीय प्रताप कुमार भगत।

उनले त रेल आउँदा वैदेशिक रोजगारमा गएको छोरो घर फर्केपछि भएको खुसी त्यति बेला महसुस भएको सुनाएका थिए। उनले रेल्वे सञ्चालनमा आएपछि फेरी रोजगारी सिर्जना हुनेमा आफू विश्वस्त रहेको बताए।

यस्तै, रेलसेवा सञ्चालन भइसकेपछि भारतबाट मालसमान आयात गर्न सहज हुने यहाँका व्यवसायीको समेत आशा थियो। साथै, बिहारको जयनगरसहित विभिन्न स्थानसम्म पुग्न सहज हुने सोचेका थिए यस क्षेत्रका बासिन्दाले।

जनकपुरदेखि जयनगरसम्म रेल गुडाउन पटक-पटक भएको परीक्षण सफल हुँदा यातायात क्षेत्रमा ठूलो फड्को मारिएको सबैले सोचेका थिए। तर, एक वर्षअघि नै सफल परीक्षण र पूर्वाधार तयार भइसक्दा समेत रेल गुडने छाँटकाँट नदेख्दा रेल सबैको सपनामात्रै भइसकेको छ।

चाँडै रेल सञ्चालन हुने भन्दै यसअघिका विभागीय मन्त्रीदेखि अधिकारीहरूले दिएको आश्वासन झुटो साबित हुँदै गएपछि रेल चल्ने वा नचल्ने विषयमा जनकपुरवासीले शंका व्यक्त गर्न थालेका छन्।

रेल चल्ने आशमा जनकपुरस्थित स्टेशन रोडमा करिब ५ वर्षदेखि होटल खेलेर बसेका छन् अप्पु कुमार साह। उनीमात्रै हैन, केहि दिन अघि मात्रै रेल चल्ने आशमा एक होटल थापे पंकज साहले पनि। तर, रेल चल्छ कहिले?

पंकजले भने, ‘रेल चल्ने कुरा सुनेपछि यस ठाउँमा खानाको राम्रो बिक्री हुन्छ भन्ने सोचका साथ होटल खोलेँ, रेल परीक्षण भएको पनि एक वर्ष बित्यो तैपनि चल्ने छाँटकाँट देख्दिनँ। अब त यो रेल सपना जस्तै लाग्न थाल्यो, चल्छ कि चल्दैन?’

रेल गुडाउनमा के छ समस्या?

जनकपुरदेखि भारतको जयनगरसम्मको रेल्वे ट्र्याक पूर्ण रुपमा तयार छ। रेल सेट पनि एक वर्षदेखि थन्किएर बसेको छ। रेल सञ्चालन गर्न के समस्या छ? यो ठूलो प्रश्न हो।

नवनियुक्त प्रबन्ध सञ्चालक निरञ्जन झाले अहिले तत्काल नै रेल गुड्ने अवस्था नरहेको बताए। दुई सेट रेल खरिद भएर आइसके पनि कानुनी तथा प्राविधिक जटिलताका कारण तत्काल रेल सञ्चालन हुने अवस्था नरहेको झाको भनाइ छ।

‘रेल सम्बन्धी कानुन प्रतिनिधिसभाबाट पारित भइसकेको छैन। प्राविधिक विषयहरूमा पनि समस्या छ। सञ्चालनका लागि अझै दुई/तीन महिना कुर्नैपर्ने हुन्छ,’ उनले भने।

रेल्वे ट्र्याक, स्टेशन, भवन, कर्मचारी आवास निर्माण गरेको भारतको इस्कन कम्पनीले अझै नेपाल सरकारलाई हस्तान्तरण गरेको छैन। भारतीय निर्माण कम्पनीले भौतिक संरचनाहरू नेपाललाई हस्तान्तरण नगरेकाले पनि रेल गुडाउन समस्या भइरहेको बताइन्छ।

भाडा निर्धारण, यात्रु बीमा, दुर्घटना लगायतका विषयमा समेत निर्णय भएको छैन। रेल सञ्चालन हुने बित्तिकै कानुनको आवश्यकता हुन्छ। जुन अहिले संसद्बाट पास भइनसकेको प्रबन्ध सञ्चालक झाको भनाइ छ। संसद्मा विचाराधिन विधेयक पारित भए रेल सञ्चालनका लागि सहज हुने उनले बताए।

रेल सञ्चालनको प्राविधिक सहयोगका लागि नेपाल सरकार अनिच्छुक देखिएको भन्दै भारतको कोकँण रेल्वे कम्पनीले केही साता अगाडि मात्रै सम्झौता रद्द गर्नेसम्मको चेतावनी समेत दिइसकेको छ।

सम्झौता अनुसार नेपाल सरकारले रकम भुक्तानी नगरेको भन्दै कोकँणले सम्झौता रद्द गर्ने भन्दै रेल्वे कम्पनीलाई पत्र पठाएको थियो। झाले कोकँण कम्पनीलाई सम्झौता अनुरूप रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको र चाँडै नै पूरा हुने जानकारी दिए। यद्यपि, कसरी भुक्तानी गर्नेबारे छलफल भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell