PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सत्ता गठबन्धनलाई ओलीले भने फ्रिजबाट निकालिएका आइसका डल्ला, ‘चुनावपछि पग्लिहाल्छन्’



सत्ता गठबन्धनलाई ओलीले भने फ्रिजबाट निकालिएका आइसका डल्ला, ‘चुनावपछि पग्लिहाल्छन्’
फाइल फोटो।

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खरबौँ रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन्। शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अरबौँको खेल गरेको बताए।

आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गरे।

उनले भने, ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो। कसरी यतिबेर यो बीचमा आएर करका दरहरु यत्रो ठूलो ढंगले देशलाई करोडौँको, अरबौंको मात्र होइन खरबौँको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो? सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन। म राष्ट्रसेवक कर्मचारी मित्रहरुलाई भन्न चाहन्छु खासगरी नेपाल निजामती कर्मचारी संगठन स्वच्छताको प्रतीक संगठन बन्नुपर्छ।’

अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गरे। चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताए।

उनले भने, ‘चुनाव भनेपछि प्रतिगमन भनेर कराएको देख्नुभएन थरथर काम्दै डराउँदै। चुनाव प्रतिगमन हुन्छ त के अब एक वर्षपछि प्रतिगमन नै हुने भयो त देशमा? अब १४ महिना पछि चुनाव त गर्नुपर्छ। के देश अनिवार्य रुपमा प्रतिगमनमा जानेभयो त चुनाव गर्दा। जनादेश आउँदा चुनाव प्रतिगमन हुने भो? संविधान मिचिएको हो त? कस्तो शासन खोजेका छन् यि तानाशाहहरुले? तर चुनाव गराउन यिनीहरु बाध्य छन्।’

उनले थपे, ‘चौध महिनामा चुनाव हुन्छ। पन्ध्र महिनामा सरकार बन्छ। यि कता हराउँछन्। कता बिलाउँछन्। यि फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्। आफैँ परेको आइस् होइन यो। फ्रिजमा बनाइएका आइस हुन्। यि डल्ला बाहिर राखिदिएपछि एकछिन पछि पग्लिहाल्छन्। त्यसकारण धेरै चिन्ता गर्नुपर्दैन।’

अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिए। जुन पार्टीको सरकार भएपनि कर्मचारीहरुले आफ्नो कर्तव्य, नियम, कानुनको परिधि भित्र रहेर सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

उनले भने, ‘हाम्रो काम देशको सेवा गर्ने हो। जनताको सेवा गर्ने हो। कर्तव्यनिष्ठ भएर सेवा गर्ने हो। त्यसकारण कुन सरकार छ भन्ने कुरा होइन, आफ्नो कर्तव्य नियम, कानुन बमोजिम, नियम, कानुनको परिधिभित्र रहेर आफ्नो कर्तव्य जुनसुकै सरकार आओस् तपाईहरुले सक्रियताका साथ निर्वाह गर्नुपर्छ। सरकारलाई असहयोग गर्ने होइन। सरकारलाई असहयोग गर्ने भनेको काम नगर्ने हो। काम नगर्ने भनेको देश विकासलाई अझ पछाडि पार्ने हो। यो बुद्धि त कांग्रेस र माओवादी केन्द्रको जस्तो भएन? यस्तो बुद्धिका पछाडि लाग्नु हुँदैन।’

कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा पुर्‍याउनुपर्ने उनले बताए। सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उनले आग्रह गरे। उनले कर्मचारी भ्रष्टाचारको विरोधी र स्वच्छताको प्रतिक हुनुपर्ने पनि बताए। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell