PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जनकपुर पुगेर रामकुमारी झाँक्रीले भनिन् : अबको सात महिनापछि भत्किन्छ ‘ओली कम्पनी’



जनकपुर पुगेर रामकुमारी झाँक्रीले भनिन् : अबको सात महिनापछि भत्किन्छ ‘ओली कम्पनी’

जनकपुरधाम : नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य नेतृ रामकुमारी झाँक्रीले अबको सात महिनापछि केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) भत्किने दावी गरेकी छन्। समाजवादी प्रेस संगठनले शनिवार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ झाँक्रीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले भत्किएर जाने जिकिर गरिन्।

उनले ओली सच्चिने कुनै सम्भावना नरहेको दावी गर्दै निर्वाचन अघि ओलीलाई आफ्ना सयौँ नेता कार्यकताहरूले साथ छाड्ने बताइन्।

उनले ओलीतर्फ लागेकाहरु तिर इंकित गर्दै भनिन्, ‘कुनै चिज बिग्रेपछि काम लाग्दैन, ओली सच्चिने कुनै सम्भावना छैन। त्यसकारण कुनै सम्भावना नै नभएको घरमा बस्नु भन्दा समयमै त्यहाँबाट छोडेर यो आन्दोलनमा समाहित हुनु सबैका लागि हितकर हुनेछ।’

एमालेलाई ‘ओली कम्पनी’ भन्दै सम्बोधन गरेकी झाँक्रीले अबको सात महिनासम्म सुस्त गतिमा एमाले भत्किने, ८ महिनापछि संघ र प्रदेशको निर्वाचनको प्रक्रिया शुरु हुने र त्यसपछि सामान्य विद्रोह नभई ओली कम्पनीमा पहिरो नै जाने ठोकुवा गरिन्। संगठन निर्माणको क्रममा विद्रोहको प्रक्रियालाई संगठित गर्ने अभियान चलेको बताउँदै उनले सयौँ नेताहरू एकीकृत समाजवादी पार्टीमा आउन चाहिरहेको जिकिर समेत गरिन्।

एमालेको नेतृत्वमा अवसरवाद, व्यक्तिवाद, नातावाद, विसर्जनवाद, दक्षिणपन्थी हावी भई पार्टी सच्चिनै नसक्ने अवस्थामा गएपछि आफूहरुले विद्रोह गरेको नेतृ झाँक्रीले बताइन्। दुई तिहाई बहुमतको तत्कालिन सरकारलाई सोही ढंगले सञ्चालन गर्न नसकेर त्यसको बदलामा मध्यावधि निर्वाचनको माग गर्दै दुई दुई पटक संसद् विघटन गर्ने जस्तो गैरजिम्मेवार, असंवैधानिक र अपराध गर्ने ओलीले काम गरेको उनले आरोप लगाइन्।

उनले आफूहरुले गरेको विद्रोह संविधानको रक्षाको लागि लोकतन्त्रलाई प्रवर्द्धन गर्दै संसद्लाई पूर्ण कार्यकाल सञ्चालन गर्नका निम्ति रहेको धारणा राखिन्।

उनले युवा पुस्तामा एकीकृत समाजवादी पार्टीको बढ्दो आकर्षण रहेको र समाजवादतर्फको यात्रामा आफूहरु अगाडि बढ्छौँ भन्ने संकल्पलाई धेरै साथ र सहयोग भेटिरहेको दावी समेत गरिन्। उनले यदि केपी ओलीलाई हामीबाट धक्का लागेको छैन भने उनले हाम्रो बाटो किन छेकेको? भनेर प्रश्नसमेत गरिन्।

उनले भनिन्, ‘यो केपी ओलीको दक्षिणपन्थको विरुद्ध विद्रोहको सानो झिल्को हो। अहिले सलाई मात्रै कोरिएको हो। बिस्तारै धेरै ठूलो डढेलो लागेर सत्यानाश गर्नेवाला छ। उहाँ धेरै हतास मनस्थितिमा हुनुहुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell