PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सभामुखको अपिल : संविधान कार्यान्वयन गर्न भएका पहलहरुको गम्भीर समीक्षा गर्दै अगाडि बढौं



सभामुखको अपिल : संविधान कार्यान्वयन गर्न भएका पहलहरुको गम्भीर समीक्षा गर्दै अगाडि बढौं

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले नयाँ संविधान अनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलहरुको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सम्बद्ध सबैसँग अपिल गरेका छन्। आज सातौं संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सापकोटाले उक्त अपिल गरेका हुन्।

'वर्तमान संविधानमा परम्परागत अभ्यासभन्दा केही विशिष्ट र मौलिक विशेषता समावेश गरिएका छन्। संविधानमा अन्तर्निहित लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र प्रतिवद्धताहरुलाई व्यवहारमा रुपान्तरण गर्नु आजको मुख्य कार्यभार हो। संविधानवाद, संवैधानिक नैतिकता तथा लोकतन्त्र गतिशील अवधारणाहरु हुन्,' सभामुखद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, 'संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा यसको कार्यान्वयनमा सहजता आउने कुरा स्वयम् सिद्ध छ। आम नागरिकले नयाँ संविधान अनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलहरुको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सम्बद्ध सबैसँग अपिल गर्दछु।'

नेपाली जनताको कठीन संघर्षको परिणामका रुपमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको स्मरण गर्दै सभामुख सापकोटाले संविधान निर्माण प्रक्रियामा सामेल भएका सबैलाई सम्मान व्यक्त गरेका छन्। 'यस विशेष दिनमा जनयुद्ध, १९ दिने जनआन्दोलन एवम् विभिन्न कालखण्डमा भएका संघर्षका क्रममा जीवन आहुति दिनु भएका सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते, अपाङ्ग एवम् बेपत्ता पारिनुभएका योद्धाहरुको बलिदानी भावको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु,' सापकोटाले भनेका छन्, 'यो संविधान नेपाल आमाका महान् छोराछोरीहरुको अदम्य साहस र बलिदानको प्रतिफल हो। यस महत्वपूर्ण दिनमा संविधान निर्माण प्रक्रियामा सामेल हुनुभएका सम्पूर्ण महानुभावहरुको योगदानको स्मरण गर्दै सम्मान व्यक्त गर्दछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell