PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रचण्डपत्नी सीतादेखि माधव नेपालका बुवालाई विभूषण, देउवा निकट दर्जन कांग्रेसी पत्रकारलाई जनसेवाश्री



प्रचण्डपत्नी सीतादेखि माधव नेपालका बुवालाई विभूषण, देउवा निकट दर्जन कांग्रेसी पत्रकारलाई जनसेवाश्री

काठमाडौं : संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार पदक प्रदान गरेकी छिन्। नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन्।   

नेपाल रत्न एक दिवंगत प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिएको छ। त्यसैगरी राष्ट्र गौरव दुई जना विभुषित गरिने भएको छ। राष्ट्र गौरवबाट दिवंगत सुवर्षण शम्शेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाल विभुषित हुने भएका छन्।

यता महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई प्रदान गरिने भएको छ। जसमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणादेखि दिवंगत स्वरसम्राट नारायण गोपालसम्म परेका छन्। सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई प्रदान गरिने भएको छ। जसमा प्रदीप नेपालदेखि पिएलसिंहसम्म परेका छन्।

प्रचण्डपत्नीदेखि माधव नेपालका बुवालाई विभुषण

सरकारको सिफारिसमा राष्ट्रपतिले घोषणा गरेको विभुषण तथा पदकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल पनि परेकी छन्। उनलाई सरकारले प्रसिद्ध प्रवल जनसेवाश्रीले विभुषण गर्न लागेको हो। यो विभुषण पाउनेको ३६ औं नम्बरमा सीताको नाम छ।

यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका दिवंगत बुवा मंगल कुमार उपाध्याय प्रवल जनसेवाश्रीबाट सम्मानित हुने भएका छन्। गौरस्थित श्री ३ जुद्ध हाइस्कुलको प्रधानाध्यापक र रौतहट क्याम्पसको पूर्वक्याम्पस–प्रमुख समेत रहेका उनलाई साहित्यकारका रुपमा उक्त पदक प्रदान गर्न लागिएको हो।

कांग्रेसी पत्रकारलाई जनसेवाश्री

सरकारले घोषणा गरेको विभिन्न पदक पाउनेमा पत्रकारहरु पनि समेटिएका छन्। जसमध्ये सुप्रवल जनसेवा श्री पदकबाट तारानाथ दाहाल, डा. सुरेशप्रसाद आचार्य, हरिबिनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान, हरिबहादुर थापा विभूषित हुनेछन्। जसमा तारानाथ दाहाल र सुरेश आचार्य कांग्रेसी पत्रकार हुन्। यता हरिबहादुर थापाले भने पदक अस्विकार गरेका छन्।

प्रवल सेवा श्री पदकबाट पत्रकार कविर राणा, बद्री सिग्देल, ऋषि धमला, अजयबाबु सिवाकोटी, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभुषण पाठक, समा थापा, विश्वमणी पोखरेल, रविन सायमी, रवि मिश्र, अनिता विन्दु, निता सापकोटा, डा. बालकृष्ण चाँपागाई, भिष्मराज ओझा, शालिकराम सुबेदी, गोविन्द धिताल, माधव ढुङगाना, प्रकृती अधिकारी, गिरीराज निरौला विभूषित हुने उल्लेख छ।

राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान : झलनाथलाई राष्ट्रगौरव, प्रधानन्यायाधीश राणालाई महाउज्ज्वल राष्ट्रदीप, विभुषित हुने अरु को - को?

त्यसैगरी नारायण अमृत, चन्द्रशेखर कार्की, भुवन शर्मा, भरतबन्धु थापा, दिपक खरेल, गिरीजापसाद अधिकारी, प्रभातकुमार झा, किसन राई, खगेन्द्र अधिकारी, सुनिल महर्जन, रोशन सापकोटा, नगेन्द्र उपाध्याय, विष्णु खड्का, रेखा भुषाल, बृजाकुमार यादव, आकांक्षा शाह, नरेन्द्रकुमार साउँद, लिला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बरबहादुर अधिकारी जनसेवा श्री पदकबाट विभूषित हुनेछन्। सूचीमा रहेका अधिकांश पत्रकार कांग्रेस समर्थित प्रेस युनियनका हुन्। उनीहरु प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। बद्री सिग्देल प्रेस युनियनका अध्यक्ष हुन् भने अजयबाबु शिवकोटी महासचिव।

सरकारले प्रदान गर्ने विभुषण कार्टुनिस्ट सायमिद्वारा अस्विकार

चर्चित कार्टुनिस्ट रविन सायमीले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नका लागि घोषणा गरेको विभुषण अस्विकार गरेका छन्। संविधान दिवसको अवसरमा आज राष्ट्रपति भण्डारीले ९०५ जनालाई विभुषण तथा पदक प्रदान गर्ने घोषणा गरेकी थिइन्।

नागरिक दैनिकमा आवद्ध सायमिको नाम प्रवल जनसेवाश्री पाउनेको ६६ नम्बरमा उल्लेख छ। उक्त विभुषण आफूले ग्रहण नगर्ने निर्णय गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका हुन्। 'सरकारले मलाई 'प्रवल जनसेवा श्री' बाट विभुषित गर्ने निर्णय गरेको रहेछ। तर हाललाई यो विभुषण ग्रहण नगर्ने निर्णय गरेको छु,' उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell