PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कैलाली-कञ्चनपुरका राजमार्ग क्षेत्रमा १३८ सीसीटीभी क्यामेरा जडान, अपराध नियन्त्रण र दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास



कैलाली-कञ्चनपुरका राजमार्ग क्षेत्रमा १३८ सीसीटीभी क्यामेरा जडान, अपराध नियन्त्रण र दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास

कैलाली : कैलाली र कञ्चनपुरका राजमार्ग क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्षबाट बजेट विनियोजन गरेर क्यामेरा जडानको काम थालेको थियो।

कैलालीको पूर्व-पश्चिम राजमार्ग चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी र अत्तरियादेखि त्रिनगर नाकासम्म क्यामेरा जडान गरिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतवार एक समारोहकाबीच ती क्यामेरा सुदूरपश्चिम प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको छ।

मन्त्रालयका सचिव चूडामणि पौडेलले ती सामग्री प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई हस्तान्तरण गरेका थिए। सो अवसरमा बोल्दै कानुन मन्त्री पूर्णा जोशीले सीसीटीभीले अपराध न्यूनीकरण, दुर्घटनाको जोखिम नियन्त्रण र प्रहरीलाई अनुसन्धानमा थप मद्दत पुग्ने बताइन्।

‘हामीले प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग पुगोस् भनेर मुख्य राजमार्गमा सीसीटीभी जडान गरेका छौँ। अब यसको सदुपयोग गर्ने जिम्मेवारी प्रहरीको हो’, उनले भनिन्, ‘जसरी तपाईँहरू भौतिक रूपमै सुरक्षामा खटिनु हुन्थ्यो अब त्यसरी नै प्रविधिको सही सदुपयोग गर्दै अपराध न्यूनीकरणमा खटिनुहोस्। यी क्यामेराहरूले सवारी दुर्घटना न्यूनीकरण गर्न र सवारी दुर्घटनाको दोषी पक्राउ गर्न पनि सहज हुनेछ।’

उनले प्रहरीले नखटिएसम्म क्यामरा जडान गरेको कुनै उपलब्धि नहुने बताइन्। प्रहरीलाई अपराध न्यूनीकरण गर्न र अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि प्रविधिमैत्री बनाउनतर्फ प्रदेश सरकार कटिबद्ध रहेको समेत मन्त्री जोशीले बताइन्।

प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेलले प्रदेश सरकारले जडान गरेको सीसीटीभीले प्रहरीलाई अपराध अनुसन्धानमा थप सहयोग पुग्ने बताए।

उनले भने, ‘यसरी नै प्रदेश सरकारले नौ वटै जिल्लामा सीसीटीभी जडान गर्नुपर्छ।’

उनले प्रहरीले पनि प्रविधिको विकाससँगै आफूलाई पनि अपराध अनुसन्धानमा थप परिवर्तन गर्दै लग्नुपर्ने बताए।

‘दुर्घटना गरेर भाग्ने र दोषी पक्राउ नपर्ने लगायतका घटनाहरूको अनुसन्धानमा अब प्रहरीलाई सहज हुनेछ,’ उनले भने।

प्रदेश सचिव पौडेलले प्रदेश सरकारले पूर्व-पश्चिम राजमार्गमा सीसीटीभी जडानका लागि दुई करोड विनियोजन गरेकोमा ठेक्का प्रक्रियामा जाँदा एक करोड ७१ लखमा एक सय ३८ स्थानमा सीसीटीभी जडान गरिएको बताए।

उनले भने, ‘सीसीटीभी जडानका लागि ९० वटा पोल प्रयोग गरिएका छन्। जसमा सात वटा चौकमा चौतर्फी घुम्ने सीसीटीभी जडान गरिएको छ। ती सीसीटीभीका १२ वटा स्थानमा स्टेसन मनिटर राखिएको छ।’

प्रदेश सचिव पौडेलले प्रदेश सरकारले सीसीटीभी जडान गरे पनि विद्युत् अवरुद्ध हुँदा समस्या हुन सक्ने बताए।

उनले भने, ‘विद्युत् गएपछि सीसीटीभी पनि बन्द हुने हुँदा सम्बन्धित स्थानीय तहले सोलार सिस्टमको प्रयोग गरी सो क्यामरालाई सञ्चालन राख्नमा मद्दत गरोस्।’

उनले प्रदेश सरकारले चालु आर्थिक वर्षमा नौ वटै जिल्लाको सदरमुकाम, मुख्य बजार र राजमार्गमा सीसीटीभी जडान गर्ने लक्ष्य लिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell