PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

‘असोज ३ कालो दिन’ भन्दै लोकतान्त्रिक समाजवादी पार्टीद्वारा विरोध प्रदर्शन



‘असोज ३ कालो दिन’ भन्दै लोकतान्त्रिक समाजवादी पार्टीद्वारा विरोध प्रदर्शन

जनकपुरधाम : आज देशभर संविधान दिवस मनाइरहेका बेला प्रदेश २ का जिल्लाहरुमा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विरोध प्रदर्शन गरेको छ। जनकपुरमा लोसपा धनुषाको अगुवाईमा नगर परिक्रमा गर्दै संविधानको विरोधमा प्रदर्शन गरिएको हो।

जनकचोकबाट शुरु भएको र्‍याली राम चोक, सोनारपट्टी, जानकी चोक हुँदै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। विरोध कार्यक्रममा सहभागी भएका लोसपा नेपालका नेता परमेश्वर साहले विभेद रहुञ्जेलसम्म आन्दोलन जारी रहने बताए।

उनले नेपालको संविधानमा मधेसी, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने माग गरे। आफूहरुले आफ्नो आवाज बुलन्द गरिरहँदा शासकके गोली बर्साएर संविधान जारी गरेको उनको जिकिर थियो। संविधानमा मधेसी जनताको अधिकार सुनिश्चित नगरिएकोले आफूहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउँदै आएको उनले बताए।

उनले संविधान संशोधन गर्नुपर्ने, झुठा मुद्दाहरु खारेज गर्नुपर्ने, मधेसीलाई प्रताडित गर्ने काम बन्द गर्नुपर्ने, सबै नेपाली नागरिकको संविधान बनाउने कोशिस गर्नुपर्नेलगायतका माग आफूहरुको रहेको बताउँदै यी मागहरु पूरा नभएसम्म असोज ३ लाई कालो दिनकै रुपमा प्रत्येक वर्ष मनाउँदै रहने समेत बताए।

२०७२ मा जारी संविधानले पहिचान सहितको संघीयता हुन नदिएको भन्दै संविधान दिवसलाई आज लोसपाका नेता कार्यकर्ताहरुले कालो दिवसको रुपमा मनाएका छन्। सरकार र संविधानको विरुद्धमा चर्को नारा लगाउँदै प्रदर्शनकारीले राज्यले उपेक्षा गरे देश द्वन्द्वमा समेत जान सक्ने बताए।

विरोध प्रदर्शनमा सहभागीहरुले संविधान संशोधन नगरेसम्म आफूहरु संविधान दिवसमा सहभागी नहुने स्पष्ट पारे। नेपालको इतिहाससँग जोडिएको मधेसी, थारु, आदिवासी, जनजातीको पहिचानको सम्मान सरकारले गर्नुपर्ने उनीहरुको माग थियो।

विरोध र्‍यालीमा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता मिश्र, वडा नम्बर-७ का वडाध्यक्ष जानकीराम साह, लोसपाका नेताहरु राजिव झा, राजु चौधरी, विन्दु ठाकुर, पूनम झा मैथिली, विवभा पाण्डेय, पुष्पा यादव, नाजिर हुसैन, इन्द्रकुमार झा मधेशानन्द, सञ्जय चौधरी, सदाशिव मिश्र, महाशंकर ठाकुर, प्रमोद यादव, ज्ञानेन्द्र झा ज्ञानुलगायतका दर्जनौँ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell