PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

देशमा कृषि उत्पादन विस्तारै घट्दै गइरहेकोमा पूर्व युवराज्ञी हिमानी चिन्तित



देशमा कृषि उत्पादन विस्तारै घट्दै गइरहेकोमा पूर्व युवराज्ञी हिमानी चिन्तित

जनकपुरधाम : हिमानी ट्रष्टले जनकपुरधाममा विद्यार्थीहरुलाई खानेपानीको सामग्री वितरण गरेको छ। सोमवार पूर्व युवराज्ञी हिमानी शाहले जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी हुन्।

पूर्व युवराज्ञी शाहले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुसँग अन्तर्क्रिया समेत गरेकी थिइन्। जीवनमा कसरी राम्रो गर्न सकिन्छ भन्ने विद्यार्थीको प्रश्नमा युवराज्ञीले अहिले राम्रो गर्न धेरै विकल्प रहेको बताइन्।

उनले भनिन्, ‘पहिले त्यति विकल्प थिएन तर अहिले डाक्टर, इन्जिनियर, व्यवस्थापन सहित एक्स्ट्रा क्रियाकलाप गर्न सकिन्छ।’

पूर्व युवराज्ञीलाई स्कुलका प्राधानाध्यापकले स्कुलमा रहेको समस्याहरुको बारेमा ब्रिफिङ गरेका थिए।

यता, हिमानी ट्रष्टका उत्तम निरौलाले आफूहरु पाँचवटा क्षेत्रमा काम गरिरहेको बताए। उनले शिक्षा लगायतका क्षेत्रमा ट्रष्टले काम गरिरहेको बताए।

उनले भने, ‘अहिले हामी फरक खालको कार्यक्रमको सुरुवात गर्न गइरहेका छौँ। यसको लागि शिक्षाको केन्द्रबिन्दु मिथिला नगरी जनकपुरधामबाट सानो सुरुवात गर्न गइरहेका छौँ।’

निरौलाले ट्रष्टले वितरण गरेको बोतलमा अशुद्ध पानी राखेपनि पानीमा भएको ब्याक्टेरिया, आर्सेनिक लगायतका पदार्थ नष्ट हुने भएकोले यसको कारण पानी पिउन योग्य हुने बताए।

पूर्व युवराज्ञी हिमानी शाहले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै देशमा विकासको दृष्टिले आमूल परिवर्तनका लागि कृषि र उद्योगको विकासमा जोड दिनुपर्ने खाँचो रहेको बताइन्। उनले कृषि प्रधान देशमा कृषि उत्पादन विस्तारै घट्दै गइरहेकोमा चिन्ता व्यक्त गरिन्।

उनले हिमानी ट्रष्टले स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा काम गर्दै आइरहेको र कोरोना संक्रमणको त्रास समाप्त भएपछि अन्य क्षेत्रमा समेत नेपाली नागरिकलाई सहयोग पुर्‍याउने योजना रहेको सुनाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell