PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

वीरगंजको मुर्ली पोखरीमा डुबेर मृत्यु भएका दुई बालकको परिवारद्वारा क्षतिपूर्ति माग



वीरगंजको मुर्ली पोखरीमा डुबेर मृत्यु भएका दुई बालकको परिवारद्वारा क्षतिपूर्ति माग

वीरगंज : शनिवार दिउँसो वीरगंज–१२ मुर्ली पोखरीमा डुबेर मृत्यु भएका दुई जना बालकको परिवारजनले क्षतिपूर्तीको माग गरेका छन्। उक्त पोखरीको सौन्दर्यकरणको काम गरिरहेको ठेकेदार पक्षसँग परिवारजनले आवश्यक क्षतिपूर्तीको माग गरेका हुन्। वीरगंज–१२ मुर्ली घर भई पोखरीमा डुबेर मृत्यु भएका १७ वर्षीय मुना गुप्ताका बुवा दिनेश गुप्ता र वर्ष १२ का प्रितम गुप्ताका बुवा उमेश गुप्ताले यस्तो माग गरेका हुन्।

मुना र प्रितम एउटै घरका दुई दाजुभाइका सन्तान हुन्। शनिवार दिउँसो २ बजेपछि उनीहरु बेपत्ता भएका थिए। परिवारजन र प्रहरीले खोजी कार्य गर्दा एक जनाको राति साढे ९ बजे र अर्कोको साढे १० बजे पोखरीबाट शव बरामद गरिएको थियो। पोखरीको डिलमा ती बालकहरुको कपडा भेटिएपछि सुरक्षाकर्मी लगाएर बालकहरुको शव खोजी गरिएको थियो।

पोखरीको सौन्दर्यकरण गर्ने ठेक्का पाएको प्रेरा–रन्जन जेभी ललितपुरले लापारवाही गरेकोले ठेकेदार पक्षसंग क्षतिपूर्ती माग गरिएको हो। वीरगंज १२ मुर्लीका वडा अध्यक्ष रामदरश कुशवाहाका अनुसार ठेकेदारले पोखरीको डिलको पर्खाल भर्ना पोखरी २० फिट गहिरो खनेर खाल्डो बनाएको थियो। बालकहरु नुहाउने क्रममा पोखरीमा कम पानी छ भनेर पसेको र डुबेको स्थानीयहरुको आरोप छ। प्रितमका बुवा उमेश गुप्ताका अनुसार तीन दुबै जनासँगै नुहाउने जाने छिमेकका अन्य दुई जना बालकहरुसँग पनि प्रहरीले आवश्यक छानबिन गरी रहस्यमय किसिमले डुबेर मरेको बालकहरुको यर्थात घटना बाहिर ल्याउन प्रहरीसँग माग गरेका  छन्। दुबै बालकको बुवाहरु गाडी पेन्ट गर्ने काम गर्दै आएका थिए। दिनेशको एक छोरा एक छोरी र उमेशको दुई छोरी र एक छोरा थिए।

पोखरी सौन्दर्यकरणमा दुई वर्षको काममा ठेकेदारले लगायो चार वर्ष

प्रदेश २ का मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत करिब ८ करोडमा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको ठेकेदारले चरम लापारवाही गरेको स्थानीयको गुनासो छ। स्थानीय कामेश्वरप्रसादका अनुसार ठेकेदारले पुरानो डिपिआर परिवर्तन गरी नियम विपरित काम गरिरहेको जनाए। उनका अनुसार पछिल्लो समय ठेकेदार कम्पनीले विभिन्न प्रकारको सवारी सधान थुपारेर सुस्त गतिमा काम गर्दा काममा ढिलाई भइरहेको बताए। त्यसैगरी, पोखरीमा काम गर्दा वरवर सुरक्षा मापदण्ड वा चौकीदार नराख्दा यस्तो घटना दोहरिएको बताए। पोहोर पनि वीरगज १३ का एक मुस्लिम समुदायको १० वर्षीय बालकको सोही पोखरीमा डुबेर मृत्यु भएको थियो। पर्साका बासिन्दा तथा प्रदेश २का प्रदेश सभा सदस्य सिगाहसन साह कलवारको ठेकेदार कम्पनीले पोखरी सौन्दर्यकरणको काम गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell