काठमाडौं : र्यापर बिजेन श्रेष्ठको नयाँ गीत ‘मरे पछि’ सार्वजनिक भएको छ। ‘हस् त नमस्ते’, ‘लोकल सोकल’, ‘गाउँकी नानी’, ‘लिम्बु हो कि नेवार’ जस्ता गीतका गायक बिजेनले डेब्यू एल्बम ‘बिजेन’मा रहेको गीत ‘मरे पछि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।
निषेधाज्ञाको फुर्सदको समयमा केही न केही काम गर्नुपर्छ भनेर ‘मरे पछि’ गीत ल्याएको उनले सुनाए।
‘दोस्रो लकडाउन पछि म रमाउन सकेको थिइनँ। त्यसकारण त्यो समयमा केही काम गर्नुपर्छ भनेर मैले बिहान ४ बजेर ३० मिनेटमा यो गीत लेखेको हुँ,’ उनले भने।
गीतले व्यक्ति र उसको वरपर रहेको सम्बन्धको बारेमा बोलेको बिजेनको भनाइ छ। जीवनमा स्थायी केही नभएका कारण मानिसले अनुशासनमा रहेर खुशी जीवन बिताउन सक्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ।
पीभीई नेटवर्कले व्यवस्थापन गरिरहेको बिजेनको यो एल्बम सन् २०२१ भित्रै रिलिज गर्ने तयारी गरिएको छ। उनी एल्बमको प्रवर्द्धनका लागि नेपाल टुरमा निस्कँदैछन्।