PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

डडेल्धुरामा फेरि वडा अधिवेशन गर्नुपर्ने मागसहित जिल्ला सभापति मल्ल पक्षले थाल्यो रिले अनशन



डडेल्धुरामा फेरि वडा अधिवेशन गर्नुपर्ने मागसहित जिल्ला सभापति मल्ल पक्षले थाल्यो रिले अनशन

कैलाली : नेपाली कांग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पार्टीको क्रियाशील सदस्यता विवाद चर्को बनिरहेको छ। देउवा र पार्टीका जिल्ला सभापति कर्ण मल्ल पक्षले क्रियाशील सदस्यतामा आ-आफ्नै दाबी गर्न थालेपछि विवाद बढ्दै गएको हो।

विवादकै बीच मल्ल पक्षले बहिस्कार गरेकै अवस्थामा डडेल्धुरामा गत भदौ २५ गते वडा अधिवेशन सम्पन्न भएको थियो। उक्त वडा अधिवेशन अवैधानिक भएको ठहर गर्दै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले विरोध गर्दै आएको छ।

विरोधकै क्रममा आज मल्ल पक्षधर नेता कार्यकर्ताले जिल्लाको पार्टी कार्यालय किशुन जी भवनमा रिले अनशन शुरु गरेका छन्। हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढङ्गले थपिएका क्रियाशील सदस्यता खारेज गरिनुपर्ने र भदौ २५ मा गरिएको वडा अधिवेशन अवैधानिक भएकाले फेरि अधिवेशन गराउन नयाँ मिति तय गर्नुपर्ने भन्दै अनशन थालिएको पार्टी उपसभापति करुणाकर भट्टले बताए।

देउवाले अवैधानिक अधिवेशन गराएकाले सो अधिवेशन बदर गरी नयाँ मिति तोक्नुपर्ने उनको माग छ। एकलौटी रूपमा वडा अधिवेशनका कार्यक्रम गरिएको उनको आरोप छ।

यस्तै, जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले जिल्ला सभापति कर्ण मल्लकी आमासमेत गरी ४ सय ६० जनाको नाम हटाइदिएको आरोप उक्त पक्षले लगाएको छ।

आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवाद सिर्जना भएको जिल्ला सभापति मल्लले बताउँदै आएका छन्। उता देउवा निकट पक्षले भने कर्ण मल्लले केन्द्रमा नाम पठाउँदा नै अन्याय गरेको बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell